धरान गौहत्याविरूद्ध वैदिक संस्कृति समाज सप्तरीको खबरदारी र्‍याली

केही दिनअघि सुनसरीको धरानमा गाईगोरू काटेर सार्वजनिक रूपमा भोजभतेर गरिएको विरूद्ध वैदिक संस्कृति समाज सप्तरीले खबरदारी र्‍याली गरेको छ।

वैदिक संस्कृति समाज सप्तरीले सदरमुकाम राजविराजमा शुक्रबार खबरदारी र्‍याली गरेको हो।

वैदिक संस्कृति समाजले यसरी भोजभतेर गर्नेमाथि अविलम्ब कारबाही गर्न माग गरेको छ।

वैदिक संस्कृति समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृत्वमा निकालिएको र्‍याली ‘गौवंश संरक्षण गर’, ‘गौहत्या बन्द गर’ जस्ता नारासहित शिव मन्दिरबाट नगर परिक्रमापश्चात् शिव मन्दिरमै फर्केर कोणसभामा परिणत भएको थियो।

बाबा मोतीलाल वैरागीले सुनसरीको धरानमा संवैधानिक प्रावधानविपरीत गाईगोरूलाई हत्या गरी सार्वजनिक रूपमै भोजको आयोजना गरेकोले सो घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।

त्यसैगरी वैदिक संस्कृति समाजका अध्यक्ष रामकुमार शास्त्रीले संविधानविपरीत कार्य गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याई संविधानको रक्षा गर्दै धार्मिक, सामाजिक, सांस्कृतिक एवं सामुदायिक सद्भाव कायम राख्न माग गरे।

त्यस्तै नेपालको संविधानमै गाई राष्ट्रिय जनावर उल्लेख गरिएकाले गाई हत्या रोकी संविधानको मूल मर्मलाई संरक्षण गर्न समतामूलक समाज निर्माण महाअभियानकी उपाध्यक्ष सुनिता साह ‘क्रान्ति’ ले सरकारसँग माग गरिन्।

उनले नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ को स्पष्टीकरणमा सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायतका धार्मिक-सांस्कृतिक स्वतन्त्रतालाई अक्षुण राख्नु पर्ने प्रावधान रहेको बताइन्।

सोही भागको धारा ९ को उपधारा ३ अनुसार राष्ट्रिय जनावर गाई हुनेछ भन्ने स्पष्ट रहेकाले नेपाली रूपैयाँमा गाईको चित्र राख्न सरकारसमक्ष माग गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर