अमेरिकामा पर्यटक बनेर जासुसी गर्छन् चिनियाँहरू

चिनियाँ नागरिक पर्यटक बनेर अमेरिकामा जासुसी गर्ने गरेको अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले लेखेको छ। १०० भन्दा बढी यस्ता मामिला बाहिर आएको र केन्द्रीय अनुसन्धान विभाग (एफबीआई) र रक्षा विभाग पनि सतर्क अवस्थामा रहेको अखबारमा उल्लेख छ।

समाचारमा अमेरिकी उच्च अधिकारीको हवाला दिँदै यो जानकारी दिइएको हो। केही महिनाअघि अमेरिकाले चीनको स्पाइ बेलुनलाई खसालेको थियो। त्यतिबेला चीनले उक्त बेलुनको अवशेष माग्दै यो वेदर इन्फर्मेसन स्याटेलाइट भएको बताएको थियो।

चिनियाँ नागरिकको बढ्दो व्यवहारप्रति निगरानी राख्न गत वर्ष एफबिआई र रक्षा विभागको संयुक्त बैठक बसेको थियो। बैठकमा चीनको तर्फबाट हुने यस्ता खालका घटनाबाट बच्ने योजना तयार गरिएको थियो। प्रमाणित कागजपत्र नहुन्जेल चिनियाँ नागरिकलाई संवेदनशील क्षेत्रको नजिक आउन नदिने बैठकमा निर्णय भएको थियो।

समाचारमा न्यू मेक्सिकोमा रहेको मिसाइल रेन्जको विषय पनि उल्लेख गरिएको छ। साथै फ्लोरिडामा अमेरिकाको रकेट लन्चिङबारेमा पनि चिनियाँ जासुसले जानकारी हासिल गर्ने कोसिस गरेको उल्लेख छ।

‘चिनियाँ नागरिक सैन्य अड्डामा रहेका म्याकडोनाल्ड या बर्गर किंग्समा पनि पुग्छन्,’ वाल स्ट्रिट जर्नलको समाचारमा भनिएको छ, ‘अलास्काको सैन्य आधारमा उनीहरुले गार्डसँग हातपात पनि गरेका थिए।’

चिनियाँ नागरिकले दूरदराज इलाकामा रहेका अड्डालाई आफ्नो निसाना बनाउन कोसिस गर्ने समाचारमा उल्लेख छ।

कसरी भयो अधिकारीहरुलाई शंका ?

एफबीआई ले केही विषयको जाँच गर्दा चिनियाँ नागरिक पर्यटकस्थल नै नभएको ठाउँमा किन गए भन्ने प्रश्न उठ्यो। साथै उनीहरुले कुनै विमानस्थल नभएको ठाउँलाई लक्षित गरेको अनुमान भएपछि यिनीहरु पर्यटक पनि नभएको र उद्देश्य पनि अर्कै भएको स्पष्ट भयो।

समाचार भन्छ– चिनियाँ नागरिक अमेरिकामा जासुसी जानकारी जुटाउँछन् र चीन पठाउँछन्। यसबारे अमेरिकी गृह मन्त्रालयले सोध्दा उनीहरूले केही बताउन चाहेनन्।

फेब्रुअरीमा देखिएको थियो जासुसी बेलुन

अमेरिकाको मोन्टाना सहरमा २ फेब्रुअरीमा चिनियाँ स्पाइ बेलुन देखिएको थियो। त्यहाँयता दुई देशबीच तनाव बढेको छ। अमेरिकाले ५ फेब्रुअरीमा एफ–२२ फाइटर जेटले बेलुन खसाएका थिए। साथै यसको अवशेष चीनलाई फिर्ता पनि दिएनन्। त्यसपछि चीन भड्किएको थियो।

चिनियाँ विदेश मन्त्रालयका अनुसार कुनै पनि वेदर बेलुन अन्य देशमा प्रवेश गर्नु सामान्य कुरा हो। बेलुन फुटाएर अमेरिकाले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको छ। २०२२ देखि हालसम्म १० वटा अमेरिकी बेलुन आफ्नो क्षेत्रमा प्रवेश गरेको दाबीसमेत गरेको छ।

श्रोतः आइएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *