भारतको संविधानबाट ‘इन्डिया’ शब्द हटाउने तयारी

भारत सरकारले आफ्नो देशको संविधानबाट ‘इन्डिया’ शब्द हटाउने तयारी गरेको छ।

संसदको विशेष अधिवेशन अमृतकालमा सरकारले यससम्बन्धी विधेयक ल्याउन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणमा प्रकाशित समाचारमा यससम्बन्धी प्रस्तावको तयारी भइरहेको स्रोतले दाबी गरेको उल्लेख छ।

देशका जनतालाई दासत्वको मानसिकता र यससँग सम्बन्धित जुनसुकै कुराबाट मुक्त गराउनमा जोड दिइरहेको नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले संविधानबाट इन्डिया शब्द हटाउने योजना बनाइरहेको समाचारमा जनाइएको छ।

हालै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरसंघचालक मोहन भागवतले पनि सदियौंदेखि आफूहरूको देशको नाम भारत रहेको बताएका थिए। उनले जनतालाई इन्डियाको सट्टा भारत शब्द प्रयोग गर्न पनि आग्रह गरे।

उनले इन्डिया शब्द औपनिवेशिक दासत्वको प्रतीक भएको बताए। प्रधानमन्त्री मोदीले जुलाई २५ मा भाजपा संसदीय दलको बैठकमा विपक्षी गठबन्धन आइएनडीआईएप्रति निशाना साध्दै इस्ट इन्डिया कम्पनी र भारतीय राष्ट्रिय कांग्रेस बेलायतीहरूले गठन गरेको बताएका थिए।

सरकारले १८ देखि २२ सेप्टेम्बरसम्म संसदको विशेष अधिवेशन बोलाएको छ। तर, यसका एजेण्डाबारे भने केही जानकारी दिइएको छैन।

विशेष अधिवेशमा चन्द्रयान-३ र आदित्य-एल१ मिसनसहित हालै प्राप्त सफलताहरूबारे छलफल हुन सक्ने छ। यसका साथै सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने रोडम्याप बनाइने छ र यस विषयमा पनि छलफल हुन सक्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *