६० किलो सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनपुत्र दिपेशसँग सीआईबीले लियो बयान

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि उनीसँग पनि बयान लिएको हो।

प्रहरी उच्च स्रोतका अनुसार सोमबार दिउँसो महाराजगञ्जस्थित ब्यूरोमा पुगेर दिपेशले बयान दिएका हुन्।

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सुनसहितको १५५ किलो बे्रक शु बरामद गरेको थियो। ब्रेक शुबाट निकालेर गालेपछिको सुन ६० किलो ७१६ ग्राम भएको थियो।

अभियुक्तहरूलाई पक्राउ गरेर प्रारम्भिक अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले बीचमा सीआईबीलाई बाँकी अनुसन्धानको जिम्मा दिएको थियो।

सीआईबीले अहिले संगठित अपराध र राजस्व छलीको कसुरमा यस प्रकरणको अनुसन्धान गरिरहेको छ।

हालसम्म ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परेका छन्।

यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क देखिएको छ। उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *