नेपाली सेनाले अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै

नेपाली सेनाले संयुक्त राज्य अमेरिकाको सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ।

दुई देशका सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ (जेसीईटी) ब्यालेन्स नेलको चालिसौं संस्करण सञ्चालन हुन लागेको हो।

यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौं उपत्यकामा सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत देशहरूका सैन्य संगठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरूलगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ।

भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भदौ २१ गते अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ।

यसैबीच, संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्सरसाइज क्याम्ब्रेयिन पट्रेलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली बुधबार प्रमुख सेनानी विवेकविक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर