खुकुरी प्रहारबाट घाइते कांग्रेस सहमहामन्त्री यादवको आईसीयूमा उपचार हुँदै

खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आईसीयूमा राखेर उपचार भइरहेको छ।

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले उनलाई चिकित्सकको निगरानीमा आईसीयूमा राखेर उपचार गरिरहेको जनाएका छन्।

सहमहामन्त्री यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो। जसकारण गहिरो घाउ भई रक्तश्राव भएको डा. रिजालले बताए।

सीटी स्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको पनि उनले बताए।

‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरी÷ अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको एक साक्षात्कार कार्यक्रममा सहभागी भएर फर्किने क्रममा एक पुरूषले उनलाई पछाडिबाट खुकुरी प्रहार गरेका थिए।

नुवाकोट घर भई काठमाडौंको बालाजु बस्ने श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका हुन्। उनी आफूलाई राजावादी बताउँछन्।

प्रहरीले खुकुरी प्रहार गर्ने सापकोटालाई तत्कालै पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर