नेपाल थाइल्याण्डसँग पराजित, ग्लोबल छनोटमा पुग्न असफल

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।

मलेसियाको यूकेएम वाईएसडी ओभल रंगशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो। यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ।

थाइल्याण्डले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा अलआउट हुँदा ५९ रनमा समेटियो। नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन जोडिन् भने अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए। अन्य खेलाडी दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा थाइल्याण्डकी ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान तीन विकेट लिए भने नटाया बुचथमले दुई तथा फनिता माया र सुनिदा चतुरंगरत्नले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय पाँच रनको योगफल बनाएको थियो। थाइल्याण्डका लागि नानपाट कोन्चारोएनकाइले सर्वाधिक ५९ रनको योगदान दिइन्। उनले ६३ बलमा चार चौका प्रहार गरिन्। त्यस्तै नथाकन चान्थमले ३१ र चानिदा सुतिरूआङले अविजित ११ रन बनाए।

नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए। जितसँगै थाइल्याण्ड प्रतियोगिताको फाइनलमा पुग्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।

नेपाल समूह ‘ए’ उपविजेता तथा थाइल्यन्ड समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *