जी-२० शिखर सम्मेलन

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले भने- हिन्दू हुनुमा गर्व छ

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफूलाई हिन्दू हुनुमा गर्व रहेको बताएका छन्।

विश्व अर्थतन्त्रका २० ठूला राष्ट्रको अन्तरसरकारी संगठन जी-२० को शिखर सम्मेलनमा सहभागी हुन शुक्रवार भारतको राजधानी नयाँदिल्ली पुगेका उनले सो कुरा बताएका हुन्।

बेलायतको प्रधानमन्त्री बनेपछि पत्नी अक्षता मूर्तिसहित पहिलो पटक भारत पुगेका उनले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा आफ्नो दिल्ली बसाइमा मन्दिर दर्शन गर्ने इच्छा रहेको समेत सुनाए।

‘म गौरवान्वित हिन्दू हुँ र यसरी नै मेरो पालनपोषण भएको हो। म यस्तै नै हुँ,’ उनले भने, ‘मलाई आशा छ, आगामी केही दिनसम्म म यहाँ रहँदा कुनै मन्दिरको दर्शन गर्न सक्नेछु।’

उनले हालै आफूले दिदी-बहिनीबाट रक्षाबन्धन बाँधेको पनि बताए।

‘हालै रक्षाबन्धन थियो जसमा मेरा दिदी-बहिनीले मलाई राखी बाँधेका थिए, भोलिपल्ट जन्माष्टमी राम्ररी मनाउन मसँग समय थिएन। तर आशा छ, मैले भनेजस्तै कुनै मन्दिरमा गएर यसको पूर्ति गर्न सक्नेछु,’ प्रधानमन्त्री सुनकले भने, ‘म आस्थालाई त्यस्तो चीज मान्छु जसले त्यस्ता हरेक व्यक्तिलाई मद्दत गर्छ जो आफ्नो जीवनमा आस्था राख्दछ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीप्रति आफ्नो उच्च सम्मान रहेकाे पनि बताए।

उनले भने, ‘मेरो मनमा मोदीजीप्रति धेरै सम्मान छ र उहाँ व्यक्तिगत रूपमा मप्रति धेरै स्नेही हुनुहुन्छ। हामी भारत र बेलायतबीचको महत्त्वाकांक्षी र व्यापक व्यापार सम्झौता पूरा गर्ने हाम्रो साझा महत्त्वाकांक्षामा धेरै मेहनत गरिरहेका छौं।’

उनले जी-२० भारतका लागि ठूलाे सफलता भएकाे समेत बताए।

दिल्लीमा शनिवार र आइतवार जी-२० शिखर सम्मेलन हुँदै छ। सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेनसहितका विश्व नेता शुक्रवार साँझ दिल्ली पुगेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर