बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा बर्दियाको एकै पालिकाका ७ जनाको मृत्यु

बाँकेमा गएराति बस दुर्घटना हुँदा बर्दियाको एकै पालिकाका ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्।

बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तूरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्।

यस्तै बसका चालक ठाकुरबाबा नगरपालिका-८ का ५५ वर्षीय जुगबहादुर चन्द र बारबार्दिया नगरपालिका-७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।

प्रहरीका अनुसार घाइते २ जनाको अवस्था गम्भीर छ भने १२ जना मध्यम र १५ जना सामान्य छन्।

घाइतेमध्ये २ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिसकिएको छ। ४ जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ र उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ। बाँकीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

बसमा ४१ यात्रु सवार थिए। तीमध्ये ५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

बसमा सवार सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।

प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण बस दुर्घटना भएको देखिएको डीएसपी डाँगीले बताए।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ बस बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा गएराति साढे ९ बजे बिग्रिएर रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर