आईजीपी कुँवर कोरिया प्रस्थान, निमित्तको जिम्मेबारीमा एआईजी थापा

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली सोमबार मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान गरेको छ ।

सुङक्युङ्कवान विश्वविद्यालय पीएमसी (कोइका) को आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म गणतन्त्र कोरियामा सञ्चालन हुने साइबर क्राइम काउन्टरमेजरमा रणनीतिक नेतृत्व पाठ्यक्रम विषयक कार्यशालामा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

टोलीमा प्रहरी महानिरीक्षक कुँवरका साथै प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री सम्मिलित छन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गरेका थिइ

उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल हुनेछ । साथै साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम रहेका छन् ।

प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा कोरियाको हलिम विश्वविद्यालय र सुङक्युङ्कवान विश्वविद्यालय को समेत अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर