गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला महानगरले बनाउँछ : रेनु दाहाल

धुर्मुस-सुन्तली फाउण्डेशनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताइन्। आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै जसरी भए पनि रंगशाला बनाउने बताइन्।

उनले भनिन्, ‘हामीलाई पटक-पटक जनस्तरबाट खबरदारी भएको छ, रंगशाला के हुँदैछ भन्ने आम रूपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो, निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ।’

सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनले बताइन्। उनले भनिन्, ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा तपाईंहरू ढुक्क रहनुस्।’

रंशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको १२ करोड रूपैयाँ बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उनले आश्वासन दिइन्।

रंगशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढंगले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ। उनले रंगशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाउने जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *