शत्रुको उपयोग गर तर विश्वास नगर : युधिष्ठिरलाई भीष्मको कूटनीतिक उपदेश

महाभारतलाई पौरस्त्य साहित्य र इतिहास सम्मिश्रित विशाल महाकाव्य मानिन्छ। त्यसो त स्वयं वेद व्यासले नै यसलाई पञ्चम वेदको नामकरण गरेका छन् र भनेको छन्—महाभारतमा नभएको कुरा अन्यत्र कतै पाइँदैन अर्थात् व्यक्तिगत, पारिवारिक, सामाजिक, प्रशासनिक, न्यायिक, नैतिक ,युद्धकला, ज्योतिर्शास्त्र तथा तत्कालीन इतिहासको सविस्तार वर्णनसमेत यसै महाकाव्यमा पाइन्छ। जसरी महासागरमा कुन सिपीमा मोती छ भन्ने कुरा निपुण शिल्पीले मात्र पहिचान गर्न जान्दछ र निपुण नाविक — तैराकले मात्र ठिक ठाउँ पत्ता लगाउन सक्छ, ठिक त्यसै गरी महाकाव्यमा रहेको ज्ञानको पहिचान र त्यसको गूढार्थ पनि ज्ञानी र शब्द साधकले मात्र लगाउन सक्छ। तर त्यहाँ खोज्न सक्दा जीवन र जगतका लागि आवश्यक सबै कुराको सिद्धान्त, प्रयोग र उदाहरण पाइन्छ। त्यसो त समयको फेर र करिब ५ हजार वर्ष अघिको समाजको यथार्थ चित्रण आजको समयसँग ठ्याक्कै नमिल्न सक्ला तर विम्ब र लाक्षणिक हिसाबले आजको अवस्थासँग धेरै मेल खान्छ भन्ने विद्वानहरूको धारणा छ।

महाभारतमा कुन पात्र मुख्य, कुन पात्र कमजोर भन्ने नै पाइँदैन। सबै पात्रहरूले उत्तिकै कथाहरूमा केन्द्रीय भूमिका निर्वाह गरेका छन्। महाभारतको कथा प्रसङ्गमा द्रौपदीको स्वयंवरमा मात्र उदाएका या व्यासले देखाएका वसुदेव—देवकी पुत्र वासुदेव श्रीकृष्ण केन्द्रीय पात्रका रूपमा देखिन्छन्। तर पनि चक्रवर्ती राजाको रूपमा मानिएका धर्मराजका अंश युधिष्ठिर र उनका चार जना भाइहरू भीम, अर्जुन, नकुल र सहदेवलाई पनि यस महाकाव्यबाट हटाएमा, महाराज धृतराष्ट्र र उनका दुर्योधनादि सय भाइ छोराहरू सहित गुरु द्रोणाचार्य, कुलगुरु कृपाचार्यको भूमिका आफ्ना आफ्ना ठाउँमा महत्त्वपूर्ण र अविस्मरणीय देखिन्छ। झन् शन्तनु महाराजका पुत्र देवव्रत जसलाई राज्यमा युवराज या महाराजको पदवी कहिल्यै नलिने, विवाह नगर्ने तर हस्तिनापुरको रक्षाका लागि, मातृभूमिको रक्षाका लागि अनवरत लागिरहने प्रतिज्ञा गरेकाले, त्यस्तो भीष्म या कडा प्रतिज्ञा गरेकाले उनको नाममा भीष्म र पछि धेरै भाइहरूका नातिहरूका बाजे बनेकाले भीष्म पितामह भनिएको थियो। भीष्म पितामह त्यो बेलामा अत्यन्त बलवान, ओजस्वी, वहु प्रतिभाशाली लडाकु मानिन्थे। यसको उदाहरण त सय वर्ष कटिसकेका वृद्धले पनि महाभारतको १८ दिनको भयानक युद्धमा १० दिनसम्म कौरवको सेनापति भएर युद्धको नेतृत्व दिएको स्मरणीय छ। र सो युद्धमा कुनै पनि रणनीतिले नजित्ने ठानेपछि पाण्डवहरूले नै उनको मृत्युको कारण के हुनसक्छ भनेर सोधेपछि स्वयं भीष्मले आफ्नो मृत्युको रहस्य बताएका थिए। एक त आफू इच्छा मृत्यु पाएको व्यक्ति भए पनि यदि कुनै महिला युद्ध गर्न सम्मुख आएमा महिलाको सम्मानका लागि उनीसँग युद्ध नगर्ने सङ्केत दिए। यसको अर्थ हुन्थ्यो, उनले जन्ममा महिला र कर्ममा पाण्डवतर्फका योद्धाका रूपमा युद्धमा खटिरहेका तर महिलाबाट पुरुष बनेका पाञ्चाल राजकुमार शिखण्डीलाई अघि लगाएर मसँग युद्ध गर्न लगाएमा म हतियार त्याग्छु, पिठ्युँ फर्काएर बस्छु भनेपछि त्यस्तै गरियो। नभन्दै शिखण्डीलाई आफ्ना सम्मुख युद्धमा धनुष लिएर रथमा उभिएको देखेपछि भीष्मले आफ्नो हतियार त्यागे अनि पिठ्युँ फर्काएर बसे। शिखण्डीलाई अग्र भागमा राखेका अर्जुनले आफैँले वृद्ध शरीरमा यसरी वाण चलाए कि त्यो कहिल्यै कुनै युद्धमा नहारेको वीर पुरुष वाणले विदीर्ण भएको शरीर लिएर युद्ध भूमिमै गर्लम्म लडे र शरीरभरि यसरी वाणहरू पसेका थिए कि उनी लड्दा वाणको शय्या बन्यो, यसरी भीष्म पितामह सर शय्यामा सुत्न बाध्य भए। उनको मृत्यु उनकै इच्छामा भएकाले उनी उत्तरायणमा मात्र ब्रह्म लीन हुने भए। उनले मात्र वायुको सेवन गरिरहेका थिए। उनी सर शय्यामा रहँदा सबै लडाकुहरू आएर उनलाई समवेदना व्यक्त गरिरहेका थिए। त्यसमा पाण्डवहरू पनि भीष्म पितामहसँग माफी माग्न र उनकै सल्लाहमा यसो गरिएको सम्झाउँदै माफी दिनका लागि भन्न आएका थिए। अरू त अरू, उनले युद्धमा समेत आउन मनाही गरिएका महान योद्धा कर्णसमेत रुँदै विलाप गर्दै सान्त्वना दिनका लागि आएका थिए।

शिखण्डीलाई अग्र भागमा राखेका अर्जुनले आफैँले वृद्ध शरीरमा यसरी वाण चलाए कि त्यो कहिल्यै कुनै युद्धमा नहारेको वीर पुरुष वाणले विदीर्ण भएको शरीर लिएर युद्ध भूमिमै गर्लम्म लडे र शरीरभरि यसरी वाणहरू पसेका थिए कि उनी लड्दा वाणको शय्या बन्यो, यसरी भीष्म पितामह सर शय्यामा सुत्न बाध्य भए।

१८ दिनपछि भारत वर्षको महान् धर्मयुद्ध समाप्त भयो र कौरवहरूलाई पाण्डवले जितेको घोषणा भयो अनि हस्तिनापुरमा राज्य गर्नका लागि पाण्डवहरू योग्य भए किनभने अब पारिवारिक प्रतिस्पर्धा बाँकी रहेको थिएन। महाराज धृतराष्ट्रका युद्ध पिपासु पुत्र तथा जेठान शकुनिहरूको विनाश भइसकेको थियो, कौरवहरूका युद्धका मेरुदण्ड महारथी कर्णको पनि मृत्यु भइसकेको थियो। हाहाकारबाट मुर्दा शान्तिमा बदलिएको अवस्था थियो। तर दुर्भाग्य, पाण्डवहरूलाई या युधिष्ठिरलाई भीष्म पितामहको ज्ञान प्राप्त भएको थिए राज्य सञ्चालनका लागि। भीष्मलाई पनि भावी चक्रवर्ती महाराज युधिष्ठिर एउटा शक्तिशाली, सक्षम शासक, न्यायवादी राजाको रूपमा राज्य गरुन् भन्ने थियो। यो कुराको सुइँको श्रीकृष्णलाई थियो। उनले युद्धको राप ताप समाप्त भएपछि इच्छा मृत्युका लागि मृत्यु पर्खेर बसेका भीष्म पितामहसँग राजनीतिको ज्ञान लिन श्रीकृष्णले प्रोत्साहित गराए। तर पाण्डवहरूलाई एउटा सङ्कोच थियो, आफैँले पितामहलाई कसरी मार्न सकिन्छ भनेर सोधी सोधी अर्धमृत अवस्थामा सर शय्यामा सुताएका पितामहसँग कुन मुखले जानेरु कसरी सोध्ने राजनीतिक प्रश्नहरू रु यो द्विविधामा परेका युधिष्ठिरसहितका पाण्डवहरूलाई श्रीकृष्णले आफैँ गएर पितामहलाई युद्ध जितेर हस्तिनापुरका शासक भएका उनका उत्तराधिकारी नातिहरूलाई राजनीति सिकाउन भन्ने भनेर लिएर गए। एकातिर अन्न जल त्यागेका र सर शय्यामा सुतेर आगामी केही दिनपछि मृत्युको कामना गरेर बसेका पितामहसमक्ष श्रीकृष्णले युधिष्ठिरलाई लिएर गए र ज्ञान दिनका लागि अभिप्रेरित गरे। कृश काय र कमजोरीले बोल्न पनि नसक्ने अवस्थाका भीष्मलाई श्रीकृष्णले नै आफ्नो चमत्कारी व्यक्तित्वको प्रयोग गरी स्मरण शक्ति फिर्ता गराए र बोल्ने क्षमता, त्यो पनि निःस्वार्थ रुपमा, निर्भयताका साथ ज्ञान उपलब्ध गराउनका लागि प्रोत्साहित गराए । श्रीकृष्णका कृपाले स्मरण शक्ति प्राप्त हुनु, बोल्ने क्षमता अकस्मात् प्राप्त हुनु र युधिष्ठिरलाई राजनीतिको प्रशिक्षण दिने लालसा भित्री मनमा रहेकाले उनले युधिष्ठिरलाई अर्थशास्त्र, युद्धकला, न्याय शास्त्र, कूटनीतिको ज्ञान उपलब्ध गराएका पाइन्छ शान्तिपर्वमा।

उनका धेरै विषयका उदाहरणसहितका ज्ञान, उपदेश तथा सतर्कताका लागि दिएका जानकारीहरूमध्ये यहाँ दिन लागिएको कथा प्रसङ्ग हो —शत्रुहरूबाट घेरिएको राजाको कर्तव्यका विषयमा प्रतीकात्मक कथा, एउटा बिरालो र मुसाको कथा।

जब राजा युधिष्ठिरले सोध्छन् —भरत श्रेष्ठ पितामह, मलाई त्यस्तो बुद्धि दिनुहोस् कि शत्रुहरूले घेरेको राजा,डर, त्रास र शत्रुको मोहमा नपरी आफ्ना बलवान शत्रुहरूलाई कसरी जित्न सक्छ रु यस्तो विषयमा हजुरबाहेक मलाई ज्ञान दिने अरू उपयुक्त पात्र को पो छ र रु तपाईँ मेरो यो जिज्ञासाको सम्झेर, विचार गरेर सुनाउनु होस् कि कसरी बलवान शत्रुहरूलाई परास्त गरेर आफ्नो राज्यको रक्षा गर्न सकिन्छ रु

भीष्मले पनि भने—वास्तवमा आपत्‌का बेलामा कसरी संयमित भएर काम गर्ने भन्ने कुरा अत्यन्त मुस्किलको कुरा हो। तर म एउटा प्रतीकात्मक कथा भनेर तिमीलाई सम्झाउँछु, सुन। युधिष्ठिर, कसरी शत्रुसँग पनि मिलेर आफूलाई बचाउन सकिन्छ र पछि कसरी शत्रुलाई सदाका लागि ऋणी बनाएर पनि आफू उसको अधीनबाट फुत्कन सकिन्छ। एउटा बिरालो र मुसाको कथा भनेर म तिमीलाई सम्झाउने कोसिस गर्नेछु।

एउटा सघन वनमा ठुलो वरको रुख थियो। ठुलो वरको रुखमा हजारौँ चराचुरुङ्गी, पशुपन्छी तथा अन्य प्राणीहरूसहित एउटा लोमश नामको ढाडे बिरालो र पलित नामको एउटा मुसो पनि त्यही वट वृक्षको सहारामा खुसीसाथ रहन्थे। त्यो वट वृक्षमा धेरै जङ्गली जनावर र पक्षी पनि भएकाले एउटा सिकार गर्नका लागि एउटा चाण्डालले त्यहाँ बास बसेर जाल बिछ्यायो। एक दिन चतुर लोमश बिरालो त्यो जालमा पर्‍यो। स्वाभाविक रूपमा नै मुसाले बिरालो जालमा परेको देखेपछि रमाइलो मानेर हेर्दै थियो कि त्यही बेलामा उसले देख्यो, उसलाई निसाना गरेर एउटा न्याउरी मुसो कसरी यो मुसालाई च्याप्प समाएर खाने भन्नेमा तयारीसाथ लागेको देख्यो, अर्कोतिर एउटा उल्लुले पनि माथिल्लो हाँगाबाट त्यही मुसालाई खाने दाउमा झम्टा हान्न लागेको देख्यो। मुसाका लागि धर्म सङ्कट आइपरेको थियो। बिरालोलाई पनि धर्म सङ्कट कस्तो परेको थियो भने यदि चाण्डाल आइपुग्यो भने उसको ज्यान जोखिममा थियो किनभने चाण्डालले उसलाई मार्ने थियो। अनि मुसाले यसो बिरालोलाई हेरेर भन्यो—म तिमीलाई सहयोग गर्न तयार छु, तिमी फसेको जाललाई काटेर म बचाउन सक्छु तर तिमीले पनि मलाई बचाउन सहयोग गर्नुपर्छ किनकि मलाई उल्लु र न्याउरी मुसाले घेरिसकेका छन् र कुनै पनि बेला आक्रमण गरेर मार्न तयार छन्। आखिर मलाई कसले मार्ने भन्ने मात्र हो, म तिम्रो काखमा बस्छु, तिमीले मलाई शरण दियौँ भने म पनि तिम्रो जाल काटेर सहयोग गर्नेछु।

अब कुनै पनि बेला चाण्डाल आउन सक्ने अवस्थामा बिरालोले जे जे सर्त राखे पनि मान्ने वचन दियो र आफ्नो काखमा आएर मुसालाई बस्न र ज्यान जोगाउन सहयोग गर्ने वचन दियो तर मेरो जालचाहिँ तत्कालै काट्नुपर्छ भन्यो। मुसो तत्कालै बिरालोको काखमा गएर बस्यो किनभने बिरालो त्यो बेलामा मुसो मारेर खाने अवस्थामा थिएन तर बिरालोको काखमा बसेको मुसालाई न्याउरीले मार्न नसक्ने थियो र उल्लुले पनि बिरालो देखेपछि कतै उडेर गयो। न्याउरी पनि कतै गयो। अनि बिरालोले भन्यो, मित्र लौ न मेरो जाल काट। तर मुसो के विचारमा पुग्यो भने यदि मैले अहिले नै जाल काटेँ भने यसले मलाई पक्कै खान्छ, अनि मैले अहिले रचेको रणनीति त असफल हुन्छ। त्यसैले चाण्डाल आउने बेलातिर जाल काट्न थालेँ भने बिरालो जसरी पनि यहाँबाट भागेर ज्यान बचाउन तिर लाग्नेछ र मलाई तत्काल खान भ्याउने छैन। अनि बिस्तारै जाल काटेको देखेर डराउँदै बिरालोले भन्यो, मित्र लौ न छिटो छिटो जाल काट, चाण्डाल त नजिकै पो आउन थाल्यो। जब चाण्डाल नजिकै आयो, अनि मात्र मुसाले जाल काटेर भाग्यो, बिरालो पनि रुखको हाँगातिर भाग्यो। जब चाण्डालले केही पनि नपरेको देख्यो, खुइय गर्दै पासो लिएर हिँड्यो। अब बिरालोले बडो चाप्लुसी भाषामा भन्न थाल्यो,मित्र आज तिमी नभएको भए म मर्ने थिएँ, आऊ म कृतज्ञता ज्ञापन गर्नेछु र परिवारका बिचमा तिम्रो गुण गाउने छु अनि हामी सधैँका मित्र भएर रहने प्रतिज्ञा गर्छु। तर मुसाले भन्यो, तिम्रो आशय मैले बुझेको छु, भोको पेटलाई शान्त पार्न तिमीले मेरो गुण बखान गरेका हौ। शत्रुको शत्रु मित्र हुनसक्छ तर शत्रुबाट बच्न अर्को शत्रुको शरण लिन मिल्छ तर विश्वास गर्न मिल्दैन। शुक्र र वृहस्पतिले भनेका छन् — ज्यान बचाउनका लागि गरिएको मित्रता क्षणिक हुन्छ, समानताका आधारमा मित्रता गर्नुपर्छ, बिरालो र मुसामा समानता हुँदैन। जीवित रहे मात्र फेरि फेरि पनि सत्कर्म गर्न पाइन्छ र बाँच्नका लागि गरिएको क्षणिक मित्रतालाई सधैँ स्वीकार गरेर बस्नु हुँदैन। शुक्राचार्यले भनेका छन् ,सबैलाई विश्वास गरेजस्तो गर तर जतिसुकै विश्वासिलो भए पनि सधैँ उसको विश्वास नगर। शङ्काको घेराभित्र विश्वासीको पनि कामलाई हेर, झन् तिमी त मेरो जन्मसिद्ध शत्रु नै हौ। सबल शत्रुसँग लड्नका लागि निर्बल शत्रुहरू मिलेर सबललाई हराउनु पर्छ तर शत्रु जहिले पनि शत्रु हो, आफ्नो काम समाप्त भएपछि मित्रको त विश्वास गर्न हुँदैन सधैँ भने शत्रुको त विश्वास गर्न सकिँदैन। त्यसैले हे लोमश बिरालो, अब तिमी आफ्नो बाटो लाग, म आफ्नो दुलोमा सुरक्षितसँग बस्नेछु।

भीष्म पितामहले यति कथा भनिसकेपछि भने—हे युधिष्ठिर, यो दृष्टान्त कथा सन्धि र विग्रहको हो,विश्वास र अविश्वासको हो। शत्रुसँग पनि बडो बुद्धिमत्तापूर्ण तरिकाले व्यवहार गर्ने र आफू र आफ्नो राज्यलाई जसरी पनि बचाउने अनि सुरक्षित हुनका लागि प्रशस्त व्यवस्था गर्ने। शत्रुसँग मिलेर पहिले आफ्नो अप्ठेरो समाधान गर्ने अनि उसको विश्वास नगर्ने। मैले अहिले भनेजस्तै गरी राज्यको संरक्षण गर र आफ्ना प्रजाको पालन गर।

श्रोतः हरिविनोद अधिकारी/आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर