गैह्रीगाउँमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न एसएसपी राठौरको नेतृत्वमा समिति

प्रहरीले काठमाडौं महानगरपालिका-३२, तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि समिति गठन गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्र केसी सदस्य छन्।

समितिलाई घटनाको सूक्ष्म अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले निर्देशन दिएका छन्।

अनुसन्धान समितिका संयोजक एसएसपी राठौरले घटनाको अनुसन्धान सुरू गरिसकिएको र अहिलेसम्म हत्याको कारण नखुलेको जानकारी दिए।

‘हामीले अनुसन्धान सुरू गरेका छौं,’ एसएसपी राठौरले पर्दाफाससँग भने, ‘अहिलेसम्म हत्याको कारण खुलेको छैन। केही व्यक्तिहरू शंकाको घेरामा छन्। केहीलाई नियन्त्रणमा लिएका छौं।’

तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा गए राति धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरूष र दुई महिलाको शव फेला परेको थियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीका अनुसार हत्या गरिएकामध्ये तीन जना एकै परिवारका हुन्।

दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाको कालिञ्चोक गाउँपालिका-८ का ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती  ४२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७१ वर्षीया शुभद्रा भुजेल र मोरङकाे बेलबारीका २५ वर्षीय नवीन राईको शुक्रबार राति पौने १२ बजे हत्या भएको हो।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिए।

उक्त दिव्य सःमिलका सञ्चालक दोलखाको कालीञ्चोक गाउँपालिका-८ घर भई काठमाडौंको गौशाला बस्ने बालकृष्ण शिवाकोटी हुन्।

अहिले मृतकहरूको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ।

घटनाको अनुसन्धानका क्रममा २८ वर्षीय दीपेन्द्र राईसहित केही पक्राउ परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर