भारतीय अन्डरवर्ल्ड डन छाेटा राजनका सहयोगी नेपाल-भारत सीमाबाट पक्राउ

भारतको मुम्बईका प्रख्यात खोज पत्रकार जेडेको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेकै समय फरार भएका दीपक दलवीर सिंह सिसोदिया पक्राउ परेका छन्।

उनलाई उत्तराखण्डको स्पेशल टास्क फोर्स (एसटीएफ) को टोलीले सोमबार बिहान नेपाल-भारत सीमा कञ्चनपुरको वनबासाबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

सिसोदिया सन् २०११ मा मुम्बईको अंग्रेजी अखबार मिड डेका पत्रकार जेडेको हत्या गरेको अभियोगमा मुम्बईको अमरावती केन्द्रीय जेलमा जन्मकैद काटिरहेका थिए।

उनी अन्डरवर्ल्ड डन छोटा राजनका निकटस्थ हुन्। छोटा राजन गिरोहकै शूटरसँग मिलेर उनले पत्रकार जेडेको हत्या गरेको अभियोग छ।

उनी गत वर्ष प्यारोल (असल आचरण भएका कैदीलाई दिइने वार्षिक बिदा) मा आफ्नो घर हल्द्वानी गएपछि जेल नफर्किएर फरार भएका थिए। प्यारोल अवधि सकिएपछि मार्चमा फेरि जेल फर्कनुपर्नेमा सिसोदिया भागेर नेपाल आएका थिए।

त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो। उनीविरूद्ध मुम्बई प्रहरीले हल्द्वानी पुलिस थानामा धारा २२४ आईपीसीअन्तर्गत प्रथम सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको थियो। एसएसपी नैनीतालले उनको नाममा २५ हजार रूपैयाँ इनाम घोषणा गरेका थिए।

छोटा राजन गिरोहका इनामी अपराधी दीपक सिसोदियालाई पक्राउ गर्न उत्तराखण्ड प्रहरीले विगत एक वर्षदेखि पहल गरिरहेको थियो। तर, उनी नेपालमा लुकेर बसेका कारण पक्राउ गर्न सकिरहेको थिएन।

आइतबार राति एसटीएफको टोलीलाई दीपक बिहान सबेरै आउन लागेको गोप्य सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा टोलीलाई वनबासा क्षेत्रमा खटाइएको थियो। उनी नेपालबाट फोर्ड फिएस्टा कार चढेर गइरहेका बेला वनबासा रेलवे स्टेशन नजिकै एसटीएफको टोलीले उनलाई गिरफ्तार गरेको हो।

अहिले उनलाई वनबासाबाट लगेर हल्द्वानी प्रहरी चौकीमा राखिएको छ, जहाँबाट मुम्बई लगिने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *