कांग्रेस सस्थापनइतर समूहको बैठक : वार्षिक कार्यतालिका कार्यान्वयनमा जोड

नेपाली कांग्रेसको संस्थापनइतर समूहले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक कार्यतालिका कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

मंगलबार नेता डाक्टर शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको इतर समूहको बैठकले कांग्रेसको साझा एजेण्डाको रूपमा प्रस्तुत गरिएको वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकाल्दै त्यसलाई समीक्षा गर्नुपर्ने निष्कर्षमा पुगेको नेता दीलेन्द्र बडूले बताए।

बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य बडूले भने, ‘कार्ययोजना र कार्यतालिकासहित पार्टी अघि बढेको छ। केन्द्रीय समितिले पास गरेको कार्यातालिका पछिल्लो समय बीचमा वर्षातको कारणले केही दिन रोकियो। त्योभन्दा पहिले एक चरणको कार्यक्रम पूरा भइसकेको छ। यसको एउटा समीक्षा गर्नुपर्छ। र, त्यो कार्यतालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्छ, त्यसले नै पार्टीलाई चलायमान बनाउँछ।’

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेस गरेको वार्षिक कार्यतालिकालाई १० साउनमा पार्टीले पारित गरेको थियो। त्यसलाई नीति अधिवेशनमा पनि साझा एजेण्डाको रूपमा निरन्तरता दिनुपर्ने कुरामा आजको बैठकमा छलफल भएको नेता बडूको भनाइ छ।

यसबाहेक असोज ४ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा के-के हुन सक्छन् भन्ने विषयमा पनि बैठकमा छलफल भएको बडूले जानकारी दिए।

फरक प्रसंगमा नेता बडूले संसदभित्रको विषय र वर्तमान सरकारको कामप्रति सन्तोष गर्न सक्ने स्थिति नभएको र सरकारको प्रभावकारिता कमजोर बनेकोप्रति कुरा उठेको बताए। बैठकमा कांग्रेस एक्लै आगामी चुनाव लडेर बहुमत ल्याउने गरी तयारीमा लाग्नुपर्ने विषयमा समेत कुरा भएको उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर