साइबर सुरक्षामा नेपाल-कोरिया सहकार्य मजबुत बनाएर फर्किए आईजीपी

प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवरको नेतृत्वमा दक्षिण कोरिया गएको टोलीले त्यहाँको प्रहरीसँग साइबर सुरक्षा र अपराध नियन्त्रणमा सहकार्यका लागि आधारभुत सहमति गरेर फर्किएको छ ।

प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय कोरियामा सञ्चालन भएको ‘साइबर अपराध काउन्टरमेजरहरूमा रणनीतिक नेतृत्व पाठ्यक्रम’ विषयक कार्यशालामा सहभागी भएर बुधबार स्वदेश फर्किएको हो।

कार्यशालामा महानिरीक्षक कुँवरले साइबर अपराधको नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको नीति तथा हाल गर्दै आएका कामबारे जानकारी गराएका थिए । उनले कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर र कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखसँग छुट्टाछुटै भेटघाट गरेर सहकार्य र सहयोगका विषयमा छलफल गरेका थिए । उनीहरूबीच साइबर अपराध नियन्त्रणमा आपसी सहयोग र समन्वयका साथै नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल भएको प्रहरी समाचार कक्षले जनाएको छ ।

कार्यशालामा नेपाल प्रहरीको टोलीले साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया गरेको थियो । यस्तै कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण समेत भएको थियो । भ्रमणको क्रममा कोरियाको हलिम युनिभर्सिटी र सुङक्युङ्कवान युनिभर्सिटीको समेत अध्ययन भ्रमण भएको थियो ।

कार्यशालामा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराध सुरक्षा सन्बन्धमा प्रस्तुतीकरण गरेका थिए।

सुङक्युङ्कवान विश्वविद्यालय पीएमसीको आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री गत भदौ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *