भारतलाई बिजुली बेचेर दुई महिनामा ५ अर्ब ४३ करोड रूपैयाँ बढी आम्दानी

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख रूपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ।

प्राधिकरणले गत साउनमा एक अर्ब ९४ करोड ८४ लाख रूपैयाँ र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रूपैयाँ बराबरको विद्युत भारतीय बजारमा निर्यात गरेको हो। दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रूपैयाँ बराबर (पाँच अर्ब ४३ करोड ३१ लाख नेपाली रूपैयाँ) को विद्युत निर्यात भएको हो।

साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत बिक्रीदर क्रमशः आठ रूपैयाँ १३ पैसा र १२ रूपैयाँ २७ पैसा छ। दुई महिनाको समग्र औसत विद्युत बिक्रीदर प्रतियुनिट १० रूपैयाँ ३७ पैसा छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडलाई बिक्री गरिरहेको छ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभीभीएनलाई एक सय १० मेगावाट गरी कुल छ सय ३२ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ। यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए।

‘देशभित्र उत्पादित विद्युत यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौं। विद्युत नपुगेका ठाउँमा विद्युत पुर्‍याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘खपत गरी बचत भएको विद्युत निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्णरूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौं।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर