हिन्द-प्रशान्त क्षेत्रका सेना प्रमुखको सम्मेलनमा भाग लिन दिल्ली गए प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्।

भारतको राजधानी नयाँदिल्लीमा सोमबारदेखि हुने हिन्द-प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको १३ औं सम्मेलन (आईपीएसीसी) मा भाग लिन प्रधानसेनापति शर्मा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए। सो अवसरमा रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो।

भारत प्रस्थान गर्नुपूर्व आजै प्रधानसेनापति शर्मालाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भ्रमण कार्यक्रम सकेर प्रधानसेनापति शर्मा असोज ११ गते स्वदेश फर्कने छन्।

हिन्द-प्रशान्त क्षेत्रका ३० भन्दा बढी देशका सेना प्रमुखहरू तथा तिनाका प्रतिनिधि सम्मेलनका लागि दिल्लीमा भेला हुँदै छन्। नेपालको प्रतिनिधित्व प्रधानसेनापति शर्माले गर्नेछन्।

हिन्द-प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले असोज ८ देखि १० गतेसम्म दिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुन लागेको हो।

भारतीय सेनाका अधिकारीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द-प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो। सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ।

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक/आतंकवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तर रूपमा अघि बढाउन सम्मेलन महत्त्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ।

सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रमुख सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर