प्रचण्डविरूद्धको अदालतको अवहेलना मुद्दामा बहस सकियो, फैसला मंसिरमा

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमासात वर्ष पुरानो उक्त मुद्दाको बहस सकिएको हो।

लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा आइतबार दुवैतर्फको बहस सकिएपछि इजलासले निर्णय सुनाउने मिति तोकेको हो। मुद्दाको निर्णय आगामी मंसिर २८ गते सुनाउने आदेश भएको छ।

प्रचण्डले द्वन्द्वकालीन मुद्दाबारे २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

२०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा कार्यकर्ता भेलामा प्रचण्डले अदालतमा आफूविरूद्ध षड्यन्त्र भएको र माओवादीविरूद्ध अदालतलाई प्रयोग गरिएको भन्दै आक्रोश पोखरेका थिए।

त्यतिबेला हत्या आरोपमा बालकृष्ण ढुंगेल पक्राउ परेका थिए। त्यस्तै गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा चितवनबाट माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए।

त्यही आक्रोशमा प्रचण्डले शान्ति प्रक्रियाविरूद्ध अदालत अघि बढ्दैछ भनी अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *