मधेश प्रदेशमा चिनियाँ कम्पनीका काण्डैकाण्ड: श्रम,यौन र आर्थिक शोषणमा प्राविधिक र कामदार

नेपालमा विभिन्न निर्माण परियोजनाको ठेक्काका लागि आएका चिनियाँ अधिकारी देखि कामदारहरुसम्मले नेपालीहरुलाई हेप्ने, दुब्र्यवहार गर्ने देखि कुटपिट समेत गर्ने गरेको घटना अब नौलो विषय रहेन ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ का वडाअध्यक्ष दावा दिन्डुप तामाङ्गले २०७७ सलामा दिएको एउटा अन्र्तवार्तामा उनले गाडीको पास लिएर जाँदा समेत चीनमा ठूलो अपमान खेप्नु परेको खुलाएका थिए । नेपाली चालकले चीनमा सामान्य ट्राफिक नियम उलंघनगर्दा मरणासन्न हुनेगरि चिनियाँ प्रहरीबाट कुटिनु परेको थियो ।

यो घटनामा नेपाली चालकले एउटा आँखा नै गुमाउनु परेको थियो । यसको बिरोधमा केरुङ् मै आन्दोलन भएको थियो ।
यो पृष्ठभुमी र घटनाको पुनरावृत्ती पुनः नेपालमै समेत सुरु भएको छ । कोरोना महामारी रोकथामका लागि भन्दै बन्द भएको तातोपानी नाका प्रायः चीनले बन्द नै राख्दै आएको छ । चिनियाँ अधिकारीहरुको व्यवहार कै कारण तनाव सहन नसकेर सिन्धुपाल्चोकका एक जना ब्यापारीले आत्महत्या गरेको खुलासा गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्गले गरेका थिए । चिनियाँहरुले गर्ने यस्ता व्यवहार धेरै बाहिर आउँदैनन् ।

यतिबेला मधेश प्रदेशमा चिनियाँ ठेकेदारले गर्दै आएको श्रम शोषणको नयाँ घटना बाहिर आउन थालेको छ । मधेस प्रदेशको सप्तरी र सिरहा जिल्लाको कंचनपुरदेखि कमलासम्मको विद्यमान पूर्व–पश्चिम राजमार्गको ८६.८३ किलोमिटरको स्तरोन्नति, नयाँ निर्माण वा पुनस्र्थापनाका लागि ५४ वटा पुलहरु सहितको सडक निर्माणको ठेकेदार चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (सिआरईजीसी) रहेको छ ।

कम्पनीले २५ जुन २०२० मा निर्माण सम्झौतामा हस्ताक्षर गरेको थियो र २९ अक्टोबर २०२० देखि लागू भएको थियो । एसियाली विकास बैंक (एडीबी) ऋण नम्बर ३७२२ एनइपी रहेको छ । यसका लागि चिनियाँ ठेकेदार कम्पनीले बलान र मिर्चैयामा दुईवटा क्याम्पहरु निर्माण गरी बस्दै आएका छन् भन्ने ठेकेदारको मुख्य आयोजना व्यवस्थापन कार्यालय लहानमा राखेको छ ।

विश्वस्त स्राेतका अनुसार यो आयोजना समेत अन्यजस्तै समयमै सम्पन्नगर्नु भन्दा चिनियाँ ठेकेदारहरुले ६–६ महिना म्यादथप्ने पूर्वयोजना नै बनाएका छन् । । कम्पनीमा कामगर्ने मजदुरसँग श्रम शोषण भइरहेको त्यही कार्यरत नेपालीहरुले सार्वजनिकरुपमै बोल्न थालेका छन् । निर्माण कार्यमा ३५० जना नेपाली मजदुर यहाँ कार्यरत रहेका छन् । स्रोतका अनुसार उनीहरुले केहीमहिना देखि पारिश्रमित पाएका छै्रनन् । यस्तै नेपालको प्रचलित कानून श्रम ऐन अनुसार उनीहरुको पारिश्रमिक दिइएको छैन् ।

अन्तर्राष्ट्रिय संस्थाको ऋण सहयोगमा निर्माणहुने परियोजनामा कामदारहरुको श्रम शोषण जघन्य अपराध सरह मानिन्छ । तर चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुपले दैनिक ८ घण्टा काम गराउनुपर्ने ठाउँमा १२ घण्टासम्म काम गराइरहेको छ । तर कसैलाई पनि ओवरटाइम बापतको श्रम सुबिधा नदिएको मजदुरहरुले बताएका छन् ।

स्रोतका अनुसार मजदुरहरु कसैलाई गुनासो गरे यही कामपनि गुम्ने भन्ने भयका कारण मौनबस्न बाध्य छन् । स्थानीय देखि केन्द्रिय प्रशासनमा कम्पनीका चिनियाँ अधिकारीले आफ्नो बर्चस्व कायम राखेका छन् । परियोजनाको कार्यालयमै स्थानीय प्रशासन र सुरक्षा अधिकारीको बाक्लो आउँजाउँ र हिमचिम देखेरै यसको अनुमान गर्न सकिने स्थानीयहरु बताउछन् । उनीहरु कसैलाई इन्धन र कसैलाई सो बापतको मासिक रकम दिएरै आफ्नो पक्ष राखेको मजदुरहरुको दाबी छ ।

विश्वस्त स्रोतका अनुसार निर्माणाधिन परियोजनामा कार्यरत एकजना चिनियाँले नेपाली महिला कामदारसँग यौन शोषणगर्दै आएको घटना समेत सामसुम पारिएको छ । घटना गत वर्षको हो । एकजना चिनियाँ अधिकारी (सुपरभाइजर लेवलका स्टाफ) ले रामेछाप स्थायी ठेगाना भएकी एकजना महिलासँग प्रेम सम्बन्धमा रहे । यी दुबैबीच विवाह समेत भयो । केही समय उनीहरु महिलाको रामेछाप घरमै गएर समेत बसोबास गरे । तर अचानक उनलाई छाडेर चिनियाँ नागरिक बेपत्ता भए । चाइना रेल्वे कम्पनीमा झण्डै ८ महिना काम गरेकी ति महिला भाषा अनुवादकको भुमिकामा रहेकी थिइन् । उनी अझैपनि न्यायको पर्खाइमा रहेकी छन् ।

त्यस्तै, चाइना रेल्वे कम्पनीले विभिन्न आपूर्तीकर्ता देखि ट्रिपर संचालकहरुको भुक्तानी पछिल्लो ८–९ महिनादेखि रोकेको छ । यही कारणले परियोजनामै समयसमयमा आन्दोलन समेत भइरहेको छ । स्रोतका अनुसार यही निर्माण कार्यमा प्रयोगहुँदै आएको होङ्सी सिमेन्टको पेमेन्ट भने कहिले पनि रोकिँदैन । होङ्सी चिनियाँ र नेपालीहरुको लगानीमा खोलिएको कम्पनी हो जसमा केही वर्ष पहिला नेपाल गुणस्तर तथा नापतौल ब्यूरोले सिमेन्ट गुणस्तरहीन भएको फेला पारेको थियो । चाइना रेल्वे नम्बर–२ ले नेपाली इन्जिनियरको साटो लगभग सय जना चिनियाँ इन्जिनियरङका विद्यार्थीहरुलाई इन्टर्नको रुपमा लहान बोलाएको छ । नेपालमा इन्जिनियरहरुले बेरोजगारीको सामना गर्नु परिरहेको समयमा रेल्वे कम्पनीले नेपाली इन्जिनियरहरुलाई रोजगार दिनुको साट्टा चीनबाट इन्टर्न बोलाएर काम गराइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *