इराकमा विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु, १५० बढी घाइते

इराकको उत्तरी निनेभेह प्रान्तमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय अधिकारी र आपतकालीन सेवाका अनुसार लागलागीमा परी ठूलो मानवीय क्षति भएको छ । निनेभेहका डेपुटी गभर्नर हसन अल-अल्लाकले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘अहिलेसम्म ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’ स्थानीय समयअनुसार मंगलबार राति करिब १०:४५ बजे (१९:४५ जीएमटी) आगलागी सुरू भएको बताइएको छ ।

निनभेहका प्रान्तीय गभर्नर नाजिम अल-जुबौरीले बुधबार बिहानसम्म आगलागीबाट हतातती हुनेको यकिन तथ्याङ्क आइनसकेको बताए । उनले मृत्युकको संख्या बढ्न सक्ने बताए । इराकको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल-बद्रले भने, ‘दुर्भाग्यपूर्ण दुर्घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन प्रयास भइरहेको छ ।’

इराकको आधिकारिक आइएनए समाचार एजेन्सीले सो प्रान्तको हम्दानियाह जिल्लाको एउटा कार्यक्रम हलमा भइरहेको विवाह समारोहमा आगलागी हुँदा १५० जना घाइते भएको बताएको थियो । हम्दानियाह राजधानी बगदादको उत्तरपश्चिममा लगभग ४०० किलोमिटर (करिब २५० माइल) उत्तरी शहर मोसुलको बाहिर रहेको छ ।

इराकको नागरिक रक्षाको प्रारम्भिक रिपोर्टहरूअनुसार उत्सवको समयमा प्रयोग गरिएको आतिशबाजीका कारण लागलागी भएको हुन सक्छ । ‘प्रारम्भिक जानकारीअनुसार विवाहको समयमा आतिशबाजीको प्रयोग भएको देखिएको छ, जसले हलमा आगो लाग्यो,’ नागरिक रक्षा अधिकारीहरूले बुधबार बिहान जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

अलजजीराका महमूद अब्देलवाहेदले बगदादबाट रिपोर्ट गर्दै भने, ‘इराकमा विवाह समारोहहरूमा आतिशबाजी गर्नु सामान्य विशेषता हो र आगलागी हुँदा करिब एक हजार मानिसहरू उत्सवमा उपस्थित थए ।’

कार्यक्रम हलको निर्माणमा प्रयोग गरिएको अतिप्रज्वलनशील सामग्रीले आगो दन्कनका लागि मद्दत पुर्‍याएको थियो । अब्देलवाहेदले भने, ‘भवनमा आपतकालीन निकासहरूसहित उचित सुरक्षा उपायहरू उपलब्ध थिएन ।’

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले आगलागीको छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले देशका आन्तरिक र स्वास्थ्य अधिकारीहरूलाई राहत उपलब्ध गराउन भनेको उनको कार्यालयद्वारा जारी अनलाइन विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *