एमाले बागमती अधिवेशन : ११ बजेदेखि हुने भनिएको मतदान अझै सुरू भएन

नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान ११ बजदेखि सुरू हुने भनिएको मतदान अहिलेसम्म सुरू हुन सकेको छैन।

एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजेदेखि मतदान सुरू हुने भनिए पनि अहिलेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीसमेत सार्वजनिक भएको छैन।

उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्नुअघि दाबी विरोध, उम्मेदवारी फिर्तालगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ। निर्वाचन आयोगका एक सदस्यका अनुसार त्यसपछि मात्र मतदान हुने भएकाले दिउँसो २ बजेदेखि मात्र मतदान सुरू गर्ने तयारी गरिएको छ।

एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ। एमाले बागमतीमा १ हजार १७४ जना मतदाता रहेका छन्।

प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन्।

यस्तै उपाध्यक्षमा दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ।

सचिवमा रत्न गुरूङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डा. रामकुमारी अधिकारीको उम्मेदवारी दर्ता भएको छ।

खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाले उम्मेदवारी दिएका छन्। उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी परेको छ।

यो अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर