हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवर भ्रमणको व्यवस्था मिलाइन्छ : प्रधानमन्त्री दाहाल

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।

आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकहरूले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोरदोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिए।

तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल कैलाश पर्वत। तस्बिर : प्रदीपराज वन्त/रासस

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब २ सय ५० किलोमिटर टाढा रहको छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल-चीन सिमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ।

सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक सञ्जाल जोडिएको भए पनि सडकको ट्र्याक मात्रै खोलिएकाले यात्रा गर्न असहज छ।

प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिए।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ। मानसरोवर ताल पनि हिन्दूहरूका लागि पवित्र तीर्थस्थल हो। कैलाश पर्वतमा बस्ने महादेवले यही मानसरोवर तालमा स्नान गर्ने गर्दछन् भन्ने हिन्दू धर्मावलम्बीहरूको जनविश्वास रहेको छ।

तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवर। तस्बिर : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर