सापू रोग र यसबाट बच्ने उपायका विषयमा के भन्छन् चिकित्सक

पछिल्ला केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामीहरु देखा पर्न थालेका छन् । भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा ६ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालकी आँखारोग विशेषज्ञ डा.कुमुदिनी सुवेदीले बताइन् ।

केहि समयअघि महामारीको रुपमा फैलिएकोे आँखा पाक्ने रोगसँग झुक्किएर सापू रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाई छ । उनले भनिन् ‘हामीकहाँ आउने बिरामी ५ दिनदेखि ९ दिनको अन्तरालमा सापूका लक्षण बोकेर आउनुभएको छ ।’

आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न डा. सुवेदीको आग्रह छ । उनले सापूरोग साना बालबालिकाहरुका लागि अझ घातक हुनसक्ने भन्दै बच्चाहरु चञ्चल हुने, सरसफाईमा ध्यान नदिने, बच्चाहरुलाई सरसफाइको बारेमा बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको समस्याबारे बताउन नसक्ने भएकाले सानो बच्चाहरुको दृष्टि अकारण गुम्न सक्ने खतरा बढेको औंल्याइन् ।

डा. सुवेदीले अहिलेको समयमा अकारण दृष्टि गुमाउनबाट बच्नको लागि सापु रोेगबारे जान्न अन्यन्तै आवश्यक भएको बताइन् । आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, कचेरा लाग्ने भएतापनि सुरुमै दृष्टिमा कमजोरी नआउने तर सापू रोगमा भने आँखामा कचेरा वा चिप्रा नलागी आँखा रातो हुने दृष्टि कमजोर हुने उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डा. सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार आँखा रातो भएपछिसकेसम्म छिटो आँखा उपचार केन्द्रमा उपचार गर्न गइहाल्नुपर्छ । समयमै उपचार पाउन सकेमा सापू रोग लागेका धेरैजसो बिरामीको दृष्टि बचाउन सकिन्छ ।

सापू रोगबारे नेपाल सरकारले पनि जानकारी मुलक पर्चाहरु निकालेको अवगत गराउँदै डा. सुवेदीले त्यसमा उल्लेख भएका कुराहरुको अवलम्वन गर्न अनुरोध गरिन् । प्रायः वर्षा यामको भदौदेखि मंसिर महिनासम्म यो रोग पाहडी भेगमा बढी देखिने भएतापनि अहिले मौसमको परिवर्तनसँगै तराई भेगतिर पनि सर्दै गएको उनको भनाई छ ।

हालसम्म सेतो पुतलीलाई सापूकोे कारक मानिएको भएतापनि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुमा समेत यो रोग देखा परेको डा. सुवेदी बताउछिन् । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको भन्दै उनले भनिन् ‘यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । म आग्रह गर्दछु हजुरहरुको आँखा रातो भएको छ भने तुरुन्तै आँखा उपचार केन्द्रमा आउनुहोला र दृष्टि बचाउने हाम्रो लक्ष्यमा सहयोग गर्नुहोला । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर