जलहरी प्रकरणमा तत्कालीन र हालका सदस्यसचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको निष्कर्ष

पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष (हाल सदस्यसचिव) मिलनकुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएकाे छ।

जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको ठहरसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

हिनामिना गरिएको सुनकाे नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्ने आउने मूल्य १ करोड १७ लाख १ हजार ७८१ रूपैयाँ ८५ पैसा बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको छ।

अख्तियारले कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरूणकुमार श्रेष्ठविरूद्ध पनि मुद्दा दर्ता गरेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रूपैयाँ निकासा गरेको थियो। त्यसपछि कोषले नेपाल राष्ट्र बैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो।

तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष तथा जलहरी निर्माण समितिका संयोजक थापाले सुनको संरक्षण गर्नुपर्नेमा नगरेको र जलहरी निर्माणमा आधिकारिक ज्ञान नभएको विज्ञलाई काम गर्न दिएको अख्तियारको दाबी छ।

जलहरी निर्माणमा १०१ किलो ४८.५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको अख्तियारले जनाएको छ। राष्ट्र बैंकबाट किनेको १०३ किलो ७७३.१ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १०१ किलो ४८.५ ग्राम सुन घटाउँदा १ किलो ५६५.६ ग्राम सुन फरक देखिएको थियो।

राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार ०.०७२ प्रतिशतले हुन आउने सुन घटाउँदा बाँकी रहेको १ किलो ४९१.७१८ ग्राम सुन हिनामिना भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

जलहरी राख्ने क्रममा कोषका तत्कालीन सदस्य सचिव डा. ढकाल र तत्कालीन कोषाध्यक्ष एवं हालका सदस्य सचिव डा. थापासमेतको निर्देशनमा गर्भगृहमा रिङ जडान गरेपछि बाँकी सुन राख्ने क्रममा बिनामुचुल्का अनधिकृत रूपमा प्रयोग गरेको बयान उनीहरूले नै दिएको अख्तियारले जनाएको छ।

त्यसैगरी स्टोरकिपर श्रेष्ठविरूद्ध पनि एक करोड १७ लाख एक हजार सात सय ८१ रूपैयाँ ८५ पैसा नै बिगो मागदाबीसहित मुद्दा दर्ता भएको हो।

श्रेष्ठले राष्ट्र बैंकबाट खरिद गरिएको सुनलगायत सोही कार्यमा अन्य दाताहरूबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख गरी पारदर्शी रूपमा दुरूस्त राख्नुपर्नेमा त्यस्तो नगरेको अख्तियारले जनाएको छ।

सुनको जलहरी निर्माणका क्रममा रूद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत २०७७ फागुन २० गते डा. मिलनकुमार थापाको मिलेमतो योजनामा रिङ बनाउने भनी कोषको आधिकारिक निर्णय तथा मुचुल्काबिना प्रयोग गरेर हिनामिना गरिएको अख्तियारले जनाएको छ।

जलहरी निर्माणका क्रममा निर्माणस्थलको बिहान तथा दिउँसोको दुवै सिफ्टको कार्यटोलीमा खटिइएको जिम्मेवार व्यक्तिले २०७७ फागुन २० गते कोषको आधिकारिक निर्णय, कोषका जिम्मेवार सदस्य तथा कार्यटोलीका सदस्यहरूलाई समेत तत्कालै जानकारी नदिई बिनानापतौल तथा मुचुल्का गैरजिम्मेवार तवरले आफ्नो जिम्मामा रूद्रगाडेश्वर ज्यासलस्थित सेफमा बाँकी रहेको सुन रिङ बनाउने भनी कोषका तत्कालीन कोषाध्यक्ष डा. थापाले निर्देशन दिँदा पनि श्रेष्ठले प्रतिवाद नगरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *