वर्षदिन नपुग्दै चीनले बनाएको पोखरा विमानस्थलमा प्राविधिक समस्या, उडान अवरूद्ध

चीनको ऋण सहयोगमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदै प्राविधिक समस्या देखिन थालेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले तामझामका साथ सुरूआत गरेको विमानस्थलको सोमबार रडार बिग्रिँदा काठमाडौंबाट उडेका दुई जहाज अवतरण नगरी फर्किए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । स्रोतका अनुसार रडारमा रहेको भीएएचएफ सिस्टम बिग्रिएपछि उडान अवरूद्ध भएको हो ।

सोमबार बिहान यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले पोखरा विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यती र श्री एयरका जहाज काठमाडौं फिर्ता आएको जानकारी दिए । ‘टावरको सञ्चार सेवामा समस्या आउँदा दुई विमान काठमाडौं फिर्ता भएका छन्,’ झाले भने ।

सरकारलाई यो विमानस्थल हालै मात्र हस्तान्तरण भएको हो । सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरू भएको थियो ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यो महँगो ब्याजदर हो । अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋणको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

यसअघि विमानस्थलमा मुख्य उपकरण जडान नगरी हस्तान्तरण गरिएको खुलासा भएको थियो । विमानस्थलमा विमान अवतरणका लागि आवश्यक मुख्य उपकरणमध्येको एक इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) विमानस्थल हस्तान्तरणपछि मात्र जडान भएको हो । आईएलएस जडानअघि नै पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

विमानस्थलमा गत ११ फागुन (२३ फेब्रुअरी) मा उक्त उपकरण जडान भएको थियो । जबकि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत १७ पुस (१ जनवरी) मा विमानस्थलको उद्घाटन गरेका थिए । यती एयरलाइन्सको विमान १ माघ (१५ जनवरी) मा विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

यती एयरलाइन्सको विमान विमानस्थल नजिकै आइपुग्दा दुर्घटना भएको हो । विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुवै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको दुुर्घटनाबारे छानबिन गर्न सरकारले बनाएको जाँचबुझ समितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थलमा दुर्घटनापछि मात्र अवतरण प्रणाली इन्स्टुुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालन भएको पनि खुलेको छ । विमानस्थलमा गत ११ फागुन (२३ फेब्रुअरी) मा उक्त उपकरण जडान भएको विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले पर्दाफासलाई जानकारी दिइन् । सामान्य तथा प्रतिकूल अवस्थामा अवतरणका लागि यो उपकरणको प्रयोग हुन्छ ।

प्रतिक्रिया

One thought on “वर्षदिन नपुग्दै चीनले बनाएको पोखरा विमानस्थलमा प्राविधिक समस्या, उडान अवरूद्ध

  1. निर्माणकाल देखिनै धेरै स्वार्थी र भ्रष्ट तप्काले दुहुनो गाई बनायेका येस्ता परियोजना हरुबाट उत्पादन फलहरु नपाक्दै कुहिनु कुनै आश्चर्य भयेन। सम्बन्धित नियमन निकाय देखिनै गहन सेटिङ्ग गरेर आआफ्नो सेबक लाई नियुक्ति दिलायेर कमाउन खप्पिस उहीँ भ्रस्टाचार का बिध्याबारिधी गर्न सफल हुने ती सबै नेता र कर्मचारी हरुलाई नझुन्ड्याये सम्म येस्ता बेथिती हरु यो देशमा अन्त्य हुनै सक्दैन। छ त कोहि तेस्तो गर्न सक्ने जन्मेका यो देशमा? जय मात्रीभुमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर