सिरहाबाट तस्करी प्रकरण : सशस्त्रका एसपी र दुई डीएसपी अनुसन्धानमा तानिए

सशस्त्र प्रहरी बल, नेपालले सिरहाको माडर भन्सार नाका भएर हुने तस्करी प्रकरणमा आफ्ना एसपी र दुई डीएसपीमाथि आन्तरिक छानबिन थालेको छ । महानिरीक्षक राजु अर्यालको निर्देशनपछि बर्दिबासस्थित छिन्नमस्ता बाहिनी मुख्यालयले सिरहाका एसपी प्रमोद भारती र डीएसपीद्वय रामहरि खतिवडा र पवन खड्कामाथि आन्तरिक अनुसन्धान थालेको हो ।

सशस्त्र मुख्यालय स्रोतका अनुसार बाहिनीपति डीआईजी दीपेन्द्र श्रेष्ठले हाल सीमा क्षेत्रमा कार्यरत रहेका डीएसपी खतिवडा र जिल्ला इन्चार्ज भारतीलाई बोलाएर सोधपुछ गरेका हुन् । यस्तै यसअअघि त्यहाँ कार्यरत खड्कामाथि पनि अनुसन्धान थालिएको हो । डीएसपी खतिवडा केही दिनअघिमात्र त्यहाँ खटिएका हुन् ।

राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार छलेर ल्याएको एक ट्रक सामान १४ असोजमा नियन्त्रणमा लिएको थियो ।

राजस्व अनुसन्धानको टोलीले सिरहाको माडर भन्सार नाकाबाट तस्करी गरी ल्याएको लत्ताकपडा बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गर्दा नियन्त्रणमा लिएको थियो ।

भन्सार छलीका लत्ताकपडा लोड गरिएको प्रदेश १-०२-००१ ख ९२३८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर इटहरी ल्याएर जाँच तथा कारबाही सुरू भएको छ । सिरहाको दक्षिणी सीमावर्ती बजार माडरबाट पूर्व-पश्चिम राजमार्गको चोहर्वाचौकतर्फ जाँदै गरेको ट्रकलाई चोहर्वा चोक नजिकै नियन्त्रणमा लिइएको हो ।

टोलीले यसअघि सिरहा नगरपालिका-१५ मा रहेको चन्द्रनारायण आधारभूत विद्यालय परिसरको बगैंचाबाट करिब ५० लाख रूपैयाँको लत्ताकपडा बरामद गरेको थियो ।

यही प्रकरणमा सशस्त्र प्रहरीको टोलीले तस्करीको कपडा छाडेको आरोप लागेपछि बलले अनुसन्धान थालेको हो ।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार सशस्त्र प्रहरीकै मिलेमतोमा माडरबाट पछिल्लो समय करोडौंको कपडा तस्करी हुँदै आएको छ । उनीहरूको योजनाअनुसार तस्करीका सामान नेपालतर्फ स्टोर गर्ने र कागजपत्र मिलाएपछि काठमाडौं पठाउने गरिन्थ्यो ।

यो प्रकरणमा एसपी भारतीका सहोदर दाइ गार्मेन्ट व्यवसायी मनोज भारतीको संलग्नता भेटिएको विभाग स्रोतले जनाएको छ । फिटवेल गार्मेन्ट सञ्चालक रहेका भारती हाल कारागारमा रहेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको सहयोगमा गत निर्वाचनमा म्यादी प्रहरीको लुगाको टेण्डर हात पारेका थिए ।

फिटवेल गार्मेन्टले सशस्त्रमा समेत ठेक्कापट्टा गर्ने गरेको छ । भारतीले सशस्त्र प्रहरी बल हेडक्वार्टर, हलचोकको नजिकै कपडा पसलबाट नयाँ भर्ना भएका सिपाहीलाई चाहिने लुगा र गेम ड्रेस बिक्री वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *