सर्वोच्चले सरकारसँग माग्यो रिगललाई आममाफी दिनुको कारण

सर्वोच्च अदालतले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

हत्या गरिएका बाँकेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले दर्ता गरेको रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार सात दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको हो।

रिटमा अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न पनि आदेश भएको छ। सर्वोच्चले रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न पनि आदेश दिएको छ।

३ असोजमा संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रिगललाई आममाफी दिएका थिए। आमाफीसँगै उनी तुलसीपुर कारागारबाट छुटेका थिए।

रिगलको छुटेको थाहा पाएपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिएकी थिइन्। उनले न्याय माग्दै बुधबार दिउँसोदेखि माइतीघर मण्डलामा अनशनसमेत सुरू गरेकी छन्।

२०७२ असार २८ गते नेपालगञ्जमा चेतनको हत्या गरेको अभियोगमा रिगललाई बाँके जिल्ला अदालतले २०७६ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर