प्रधानसेनापति ट्रफी-२०८० सुरू (तस्बिरहरू)

प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता–२०८० सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले आज एक कार्यक्रमका बीच प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

असोज ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको बताइएको छ ।

जङ्गी अड्डास्थित खेल मैदानमा आयोजित उद्घाटन समारोहमा स्वागत मन्तव्यको क्रममा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने नेपाली सेनाका ओलम्पियनहरू संस्थागत स्मृतिको पुञ्ज रहेको बताए ।

उनले हरेक वर्ष सञ्चालन हुँदै आइरहेका इन्टरनेशनल ट्रि–एड्भेन्चर र रन फर फन प्रतियोगिताहरू यस वर्ष पर्वको रूपमा मनाउने तयारी भइरहेको साथै अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिभाशलाी साबित हुने लक्ष्यसहित ‘वारियर कम्पिटशन’ को अवधारणा विकास भइरहेको बताए ।

समारोहमा प्रधानसेनापति ट्रफीमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपासका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सुरक्षासम्बन्धी जिम्मेवारीसमेत निर्वाह गरिरहेको नेपाली सेनाले यस वर्षको बाघ गणनामा बाघको सङ्ख्या दोब्बरभन्दा बढी भएको उत्साहपूर्ण उपलव्धिको स्मरणमा यस वर्षको प्रधानसेनापति ट्रफीमा बाघलाई मस्कटको रूपमा राखी उद्घाटन समारोहमा बाघको मस्कटसमेत प्रदर्शन गरिएको थियो ।

समारोहमा सन् १९७२ मा म्युनिख ओलम्पिकमा सहभागी तथा सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको एसियन ट्र्याक एण्ड फिल्ड च्याम्पियनसिपको म्याराथन विधामा पहिलो अन्तर्राष्ट्रिय पदक (कास्य) हासिल गरी नेपाल र नेपाली सेनाको नाम विश्वसामु परिचित गराउन सफल नेपाली सेनाका ओलम्पियन जमदार जीतबहादुर के.सी. (अ.प्रा.) लाई पदक प्राप्त गरेको स्वर्ण जयन्तीका उपलक्ष्यमा प्रधान सेनापतिले कदर पत्र प्रदान गरे ।

यस्तै आजै सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष ४०० मिटर रिले दौडका विजेताहरूलाई प्रधानसेनापतिले पुरस्कार वितरण गरे । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरू सञ्चालन हुनेछन् ।

नेपाली सेनाभित्र रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि. सं. २०६५ सालबाट प्रधानसेनापति ट्रफी सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *