युवाहरूको बढ्दो विदेश पलायन रोक्न विशेष कार्ययोजनासहित काम गर्छु : अध्यक्षका प्रत्यासी शर्मा

कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गर्नुअघि नै राजेन्द्रकुमार (आरके) शर्मा तीन महिनादेखि समर्थन जुटाउन विश्व भ्रमणमा निस्किएका थिए । शर्मा अहिले पनि चुनावी अभियानमै छन् ।

शर्माको निद्रा हवाइजहाजमा नै भयो गएको तीन महिना । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उठ्ने तयारी गरेपछि नेपालीहरू रहेका अधिकांश क्षेत्रमा पुगेर उनले अन्तर्क्रिया र छलफल कार्यक्रम गरे । प्रवासी नेपालीहरूका समस्या र त्यहाँका सम्भावनालाई उनले नजिकबाट नियाले ।

शर्माले विभिन्न देशमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना २४ महिने कार्यकालमा गर्न सकिने २४ योजना तथा कार्यक्रमहरू सार्वजनिक गरे । अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्यसहित आफू संघको नेतृत्व गर्ने अभियानमा लागेको शर्माले बताएका छन् ।

शर्माले आफू अध्यक्षमा निर्वाचित भएपछि २४ वटा बुँदामा मात्रै नभएर त्यसमा आधारित रहेर धेरै काम गर्ने योजना बनाएका छन् । ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारा बोकी शर्मा यतिखेर समर्थन जुटाउन चुनावी अभियानमा छन् ।

२० वर्षमा पुगेको गैरआवासीय नेपालीले अहिलेसम्म संस्थागत रूपमा मानवीय कार्यमात्रै गर्दै आएको छ । मानवीय कार्यलाई निरन्तरता दिंदै आर्थिक मुद्दामा यो अभियानलाई केन्द्रित गराउनुपर्ने योजना शर्माको छ । यसका लागि शर्माले रेमिट्यान्सको रकम देशको विकासमा लगाउन प्राधिकरणको योजना अगाडि सारेका छन् । जसलाई विश्वभरमा रहेका गैरआवासीय नेपालीको साथ र सहयोग मिलेको छ ।

‘विश्वमा जुनसुकै कुनामा पुगेपनि नेपालीहरूको चाहना र इच्छा एउटै छ,’ शर्माले भने, ‘नेपाललाई छिट्टै समृद्ध र विकसित बनाएर फर्कने, यही उद्देश्यको लागि अब हामीहरूले काम गर्नुपर्ने भइसकेको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने दृश्य हेर्दा देश नै खाली होला जस्तो लागेको भन्दै उनले भने, ‘यो अवस्था आउन नदिन अब एनआरएनएको नेतृत्वले विशेष कार्ययोजना ल्याउनुपर्दछ । म त्यही अभियानमा होमिएको छु ।’

‘तत्कालको लागि वैदेशिक रोजगारीको विकल्प नभए पनि देशभित्र विकासका बाटाहरू खोल्नको लागि ढिलो भइसकेको छ,’ शर्माले भने, ‘गैरआवासीय नेपालीको सीप र ज्ञानलाई देश विकासमा लगाउन सरकारले योजना बनाएर अगाडि बढ्नुपर्छ, त्यसको लागि एनआरएनएले सहयोगीको भूमिका खेल्नेछ ।’

शर्मा र हङकङका गैरआवासीय नेपालीहरूबीच भएको छलफलमा हङकङमा वैधानिक तरिकाले नेपाली कामदारहरू लैजान त्यहाँको सरकारसँग श्रम सम्झौता गर्नुपर्ने विषयलाई विशेष जोड दिइएको थियो । शर्माले यो विषयलाई गम्भीरताका साथ लिएका छन् ।

त्यस्तै युरोपमा अहिले सिजनल कामदारको अभाव रहेकोले युरोपमा नेपाली कामदार पठाउन सकिने विषय पनि युरोप भ्रमणका क्रममा उठेको छ । युरोपका देशहरूसँग श्रम सम्झौता गर्न नेपाल सरकारलाई आग्रह गर्नुपर्ने विषय पनि उठेको छ ।

विश्वयुद्धको बेला मलेसियामा पुगेका र अहिले सिंगापुरमा रहेका नेपालीहरुलाई पनि गैरआवासीय अभियानमा जोड्नुपर्ने आवाज उठेको छ । त्यस्तै जापान, कोरिया, युरोप, अष्ट्रेलिया र क्यानडामा नेपाली विद्यार्थीहरूको समयस्यालाई सम्बोधन गर्न एनआरएनएले भूमिका खेल्नुपर्ने एनआरएनहरूले माग गरेका छन् । विश्व भ्रमणका बेला शर्माले गैरआवासीय नेपालीहरूका समस्यालाई नजिकबाट बुझेका छन् ।

८० भन्दा बढी देशमा फैलिसकेको गैरआवासीय नेपाली संघको यो पटकको चुनावमा प्राविधिक कारणले ५८ देशका प्रतिनिधिले मात्रै भोट हाल्न पाउने भएका छन् । जसमा शर्मालाई अधिकांश सबै क्षेत्रका प्रतिनिधिहरुले साथ दिने र सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर