कांग्रेसलाई एकताबद्ध नगरे इतिहासले हामीलाई सराप्छ : आरजु राणा

नेपाली कांग्रसकी नेतृ आरजु राणा देउवाले कांग्रेसलाई एकताबद्ध गरेर अगाडि नबढे इतिहासले कांग्रेस नेतृत्वलाई सराप्ने बताएकी छन् ।

शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कांग्रेस एकजुट हुनुपर्ने धारणा राखिन् ।

उनले कांग्रेसले जति उपलब्धि कुनै पनि देशमा कुनै पनि पार्टीले नगरेको भन्दै सत्मार्गमा लागेर कांग्रेसलाई एकताबद्ध नगरे कांग्रेसले गरेको उपलब्धिलाई नयाँ पुस्ताले सराप्ने बताइन् ।

राणाले प्रजातात्रिक आन्दोलनदेखि जनआन्दोलन र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसको पुरानो पुस्ताले जेलनेल सहेर पार्टीलाई अहिलेको अवस्थामा ल्याएको बताइन् ।

उनले भनिन्, ‘त्यो समयका नेताहरूले कसरी पार्टीलाई एकतबद्ध गरेर ल्याए होला । बोल्न पनि गाह्रो थियो । त्यही पनि दुःखकष्ट सहेर पारिवारिक जीवनलाई त्यागेर देशलाई यहाँसम्म ल्याउनु भएको हो । त्यस्तो गाह्रो समयदेखि यहाँसम्म ल्याएको पार्टीलाई अहिले हामीले एकबद्ध गरेर नलगे इतिहासले सराप्छ । हाम्रो पुस्तालाई सराप्छ ।’

उनले प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको कांग्रेस र बनाएको संविधानमा लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा विश्वास गर्छौ भनेर लेखेर पनि त्यसमा कसैले प्रयास गर्न नसकेको उल्लेख गरिन् । उनले एकले अर्कोलाई ढुंगा हान्न पुरानो नेतृत्वले नसिकाएको जिकिर गरिन् ।

पार्टीलाई प्रजातन्त्र स्थापनादेखि गणतन्त्रसम्म आइपुग्दा पुरानो नेतृत्वले सबै चुनौतीको सामना गरेर आजको अवस्थामा ल्याएको तर नयाँ नेतृत्वले त्यसको मूल्यांकन सही रूपमा नगरेको गुनासो राणाको छ ।

नेतृत्वको कार्यशैलीमा सामाजिक सञ्जालबाटै आफ्नो असन्तुष्टि पोख्दै आएका देउवा इतरको समूहलाई लक्षित गर्दै राणाले थपिन्, ‘पुरानो पुस्ताको पार्टी नेतृत्वले धेरै कुराको त्याग गरेर पार्टीलाई यहाँसम्म ल्याउनुभएको हो । अहिले हामी एउटा शब्दमा चित्त बुझेन भने दुई सेकेण्डमा फेसबुक स्टाटस हाल्दिने, गाली गर्दिने, त्यो बेलामा बोल्न पाउने अवस्था पनि थिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर