कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले शनिबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कार्की नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री बनेका हुन्। केन्द्रमा गठबन्धनमा आबद्ध दलहरूले नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।

उक्त सहमतिप्रति असहमति जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षधर कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

कार्कीको समर्थनमा उनीसहित कांग्रेसका ८ सांसद तथा नेकपा (एमाले) का ३९ जना सांसद छन्।

समर्थन गर्ने सांसदहरूको प्रत्यक्ष उपस्थितिमा प्रदेश प्रमुख खापुङले सनाखत गराएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि असोज २० गते पदबाट राजीनामा दिएका थिए।

त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वन गरेका थिए।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए। मुख्यमन्त्रीका लागि कार्की र आङ्बो दुवैले आफूलाई ४७-४७ सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए।

दुवैको बराबरी समर्थन संख्या पेस भएपछि समर्थन गर्ने सांसदहरूको सनाखत गरिएको थियो। सनाखतमा कार्की पक्षका सांसदहरू उपस्थित भएका थिए भने आङ्बो पक्ष सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय गएन।

सनाखत गर्दा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर