हनुमानढोका दशैंघरमा राखियो जमरा (तस्बिरहरू)

घटस्थापना अर्थात बडादशैंको पहिलो दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा विधिवतरूपमा जमरा राखिएको छ ।

बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् ।

सो क्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाउनुका साथै बन्दुक पड्काएर बढाइँ गरिएको छ । हनुमानढोकाको दशैंघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगलधुन गाइन्छ ।

उक्त हनुमानढोकाका पूजारी सागर खरेलले दुर्गा माताले दैत्यमाथि विजयी गरेको र रामले रावणमाथि विजय गरेको उत्सवको रूपमा दशैं मनाउने गरेको बताए ।

उनले घटस्थापनादेखि दैनिक रूपमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्यमचारिणी र तेस्रो दिन चन्द्रघन्टा गर्दै दशौं दिनसम्म पूजा गर्ने बताए ।

उनले भने, ‘यो घटस्थापना भनेको दुर्गा माताले दैत्यमाथि विजयी गरेको र रामले रावणमाथि विजय गरेको उत्सवको रूपमा हामीले नवदुर्गाको पूजा गर्छौं । घटस्थापनादेखि सुरू गरेर दशमीसम्म हामीले दैनिक रूपमा पहिलो दिनमा शैलपुत्री, दोस्रो दिनमा ब्रह्मचारिणी, तेस्रो दिनमा चन्द्रघन्टा गर्दैगर्दै दशौं दिनसम्म हामीले पूजा गरेर भगवती दुर्गा मातालाई खुसी बनाउनको लागि विशेषगरी जमरा छर्ने गरेका छाैं । जौकै जमरा छर्ने गरेका छौं तर विधान पुर्‍याउनको लागि मकैहरू पनि छरेका छौ ।’

उनले जमरा छरेपछि मानिसमा सुख, शान्ति छाउने र रोगहरू भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको भन्दै त्यसैलाई मध्यनजर गरेरजमरा छरेका पनि बताए ।

हनुमानढोकामा जमरा राखिसकेपछि मात्रै सबै स्थानियले जमरा राख्ने चलन रहेको छ । दशैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

यसैगरी हनुमानढोका साथै मैतिदेवीलगायतका मन्दिरहरूमा पनि आज विधिवत रूपमा जमरा छरेर दशैंको सुरूआत गरिएको छ ।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर