टी-२० विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं। आजदेखि सुरु हुने आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्दैछ। किर्तीपुरस्थित टियू मैदानमा हुन लागेको उक्त खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ।

सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका ८ वटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन्। कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबिच खेल हुनेछ । सोही समय (बिहान ९ बजे) मा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।

यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ ।

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन्। आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर