युनेस्कोको ‘रचनात्मक शहर सञ्जाल’ मा जोडियो काठमाडौं

चलचित्र विधाबाट काठमाडौं युनेस्कोको रचनात्मक शहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिएको छ । आज काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाले उक्त जानकारी दिएको हो ।

अन्तर्क्रियामा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प भएको भन्दै यसलाई छनोट गरेको बताइन् ।

उनले भनिन्, ‘काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प रहेको हुँदा हामीले यसलाई छनोट गरेका हौं । हामी गीतमा पनि काम गर्छौं । हामीले काठमाडौंमा भएका मूर्त–अमूर्त सम्पदाहरूमा काम गरिरहेका छौं ।’

उनले युनेस्कोमा आबद्ध भएपश्चात फिल्मसँग सम्बन्धित उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र प्रवर्द्धन गर्ने योजनाहरू रहेको भन्दै यसबाट देशको आर्थिक अवस्था सुधारमा पनि सहयोग पुग्ने बताइन् ।

उनले भनिन्, ‘हामीले बनाएका योजनाहरूका लागि बजेट पनि छुट्याएका छौं । योसँग सम्बन्धित उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र अझ प्रवर्द्धन कसरी गर्ने भन्ने विषयमा पनि योजनाहरू बनाएका छौं । यसबाट नेपाललाई चिनाउने मौका पनि पाइन्छ, नेशनल जीडीपीमा पनि यसको भूमिका र प्रभाव रहोस् भन्ने पनि लक्ष्य लिएका छौं । रोजगारी सिर्जनाको लागि पनि यसले काम गर्ने विश्वास गरेका छौं ।’

रचनात्मक शहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिकाले चलचित्र विधा छानेको थियो । सीसीएन (युनेस्को क्रियटिभ सिटिज नेटवर्क) मा आबद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी खानाका परिकार, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधा छान्नुपर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो ।

सयभन्दा धेरै देशका ३५० शहर रचनात्मक शहर सञ्जालमा आबद्ध छन् । यसपटक ५५ वटा शहर थपिएका हुन् ।

रचनात्मक शहरमा आबद्ध हुने निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो । सरोकारवालाबीच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्सांकनसहितका काम भइसकेका छन् ।

जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त–अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौंलाई रचनात्मक शहरका रूपमा हेर्ने गरिएको छ । जात्रा, पर्व, मौलिक भेषभूषा, खानपान काठमाडौंसँग जोडिएर आउने बिम्ब हुन् । शहर भन्नेबित्तिकै मनमा आउने पहिलो चित्र यही हो ।

फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्नभिन्न शहरलाई रचनात्मक शहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक शहरको अवधारणा हो । एउटा रचनात्मक शहरमा समावेशी समाज, सिर्जनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोणजस्ता विषय चलायमान हुने पनि विश्वास गरिएको छ ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ ।

ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरूको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवर्द्धन, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्‍याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ ।

चलचित्र स्टुडियो, पोष्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरू, उद्योगका विधागत सीप र सिकाइहरूलाई सञ्जालमा आबद्ध गरेर प्रवर्द्धन गरिनेछ । अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ ।

स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिने साथै तथ्य तथ्यांक निर्माण गरिने जनाइएको छ । व्यञ्जनकला र शिल्प, हस्तकला उद्योगको प्रवर्द्धन र मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिने जनाइएको छ ।

यसैगरी अन्तरर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पोजस्ता कार्यक्रम सञ्चालन गरिनेछ । यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ ।

यसबाट अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन् । सदस्य अन्तर्राष्ट्रिय नगरहरूमा विद्यार्थी कलाकार, अनुसन्धानकर्ता र साझेदारबीच ज्ञान, सीप र अनुभव आदानप्रदानको वातावरण प्रदान गरिने जनाइएको छ ।

युनेस्को क्रियटिभ सिटिज नेटवर्क (यूसीसीएन) कार्यान्वयनका लागि महानगरपालिकाले ५ करोड रूपैयाँ विनियोजन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर