उपरथी पाण्डेविरूद्ध उजुरी परेन, प्रधानसेनापति फर्केपछि बढुवा गर्ने तयारी

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्ने बढुवा समितिको निर्णयविरूद्ध तोकिएको मितिमा कुनै उजुरी परेको छैन । प्रधानसेनापति प्रभुराम शर्मा अध्यक्ष रहेको समितिले उनलाई बढुवा गर्न सातदिने सूचना जारी गरेको थियो । यो अवधिमा कुनै उजुरी परेको भए उपरथी पाण्डेको बढुवा प्रभावित हुने थियो । तर, विभिन्न सञ्चारमाध्यममा अनेकन टिकाटिप्पणी भए पनि पाण्डेविरूद्ध सैनिक मुख्यालयमा कुनै उजुरी परेन । योसँगै उनी भावी प्रधानसेनापतिको लाइनमा आएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा चीनबाट फर्किएपछि उपरथी पाण्डेलाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिस गर्ने सैनिक उच्च स्रोतले जनाएको छ । प्रधानसेनापति शर्मा अध्यक्ष रहेको बढुवा समितिले युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । समितिले उक्त निर्णयको जानकारीसहित असोज ३० गते ७ दिने सूचना जारी गरेको थियो ।

यस अवधिमा पाण्डेविरूद्ध बढुवा समितिमा कुनै उजुरी नपरेकाले अब बढुवाको प्रक्रिया अगाडि बढ्ने सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पर्दाफासलाई बताए । सैनिक नियमावलीअनुसार बढुवाका लागि सूचना सार्वजनिक भएको ७ दिनभित्रमा बोर्डमा उजुरी गर्न सकिने व्यवस्था छ ।

प्रधानसेनापति शर्मा हाल चीन भ्रमणमा छन् । उनी बिहीबार स्वदेश फर्किँदै छन् । नेपाल फर्केलगत्तै प्रधानसेनापतिले बढुवा समितिको निर्णयसहित अब पाण्डेलाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस पठाउनेछन् । मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएपछि सरकारले निर्णय गर्नेछ ।

रथी सरोजप्रताप राणा अनिवार्य अवकासमा गएपछि रिक्त भएको स्थानमा पाण्डेलाई बढुवा गर्न लागिएको हो । कात्तिक १२ गतेबाट राणा अवकास भइसकेका छन् । उनी १५ दिनअघि अर्थात् असोज २८ बाट बिदामा बसिसकेका थिए। ।

नेपाली सेनामा पाण्डेभन्दा अघिल्लो वरीयतामा रहेका हालका रथी सीताराम खड्का पुस पहिलो साता नै उमेर हदका कारण अवकासमा जानेछन् । उनको अवकासपछि पाण्डे वरिष्ठतम रथी बनेर भावी प्रधानसेनापतिको रोलक्रममा रहनेछन् । हालका प्रधानसेनापति शर्मा आउँदो वर्षको भदौ २४ मा सेवानिवृत्त हुनेछन् ।

खड्काको अवकासपछि रिक्त हुने रथी पदमा हालका उपरथी अशोकराज सिग्देल बढुवा हुनेछन् । पाण्डेपछिका वरिष्ठतम् उपरथी सिग्देल हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर