जब राष्ट्रसङ्घका महासचिव इम्जा हिमतालमा ओर्लिए….

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस जब सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमाथि पुगे, उनी चढेको सैनिक हेलिकोप्टरले एउटा विशाल तालमाथि चार फन्को लगायो । अनि बल्ल हेलिकोप्टर आधार शिविरको हेलिप्याडमा उत्रियो । जहाँ सांस्कृतिक पहिरन सहित हिमाली शेर्पाहरु र जनप्रतिनिधि उनको स्वागत गर्न तम्तयार भएर लामबद्ध उभिएका थिए ।

हेलिकोप्टरबाट उत्रिएपछि गुटेरेसले वरिपरीका सेताम्मे हिमाल र पर्वतमालाको अवलोकन गरे । अनि बढे उनको स्वागत गर्न उभिएका आतिथ्यतिर ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवं क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिजका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा जातीय पहिरनमा गुटेरेसको स्वागत गर्न अरुसँगै उभिएका थिए जहाँ उनको औपचारिक प्रस्तुति पनि थियो।

गुटेरेस फर्किए पनि उनले आफ्नो हात समाएर जलवायु परिवर्तनको नकारात्मक असर भोगिरहेको नेपाललाई न्याय दिलाउने गुटरेसको आश्वासन सम्झिरहेका छन् शेर्पा ।

‘इम्जा हिमताल नै थिएन’ आफू जवान हुँदा जुन बेला हिमाली पर्वत मालातिर फन्को लगाउने शेर्पा आश्चर्य मान्दै सुनाउँछन्,‘हेर्दाहेर्दै त्यहाँ अलिअलि पानी जम्न थाल्यो र विस्तारै पोखरी बन्या े। अब त त्यहाँ विशाल ताल नै बनिसकेको छ ।’

इम्जा हिमताल करिब ४ किलोमिटरको लम्बाई र १ किलोमिटरको चौडाई बनाएर फैलिईसकेको छ । कुनैबेला यो हिमताल फुट्छ भन्ने आशंका बढेपछि तल्लो तटिय क्षेत्रका बस्ती जोगाउन नेपाली सेनाले ३ दशमलव पाँच मिटर पानी घटाएको थिया े। यसमा संयुक्त राष्ट्र संघले सहयोग गरेको सम्झन्छन् शेर्पा ।

यही हिमतालको फन्को मारेर गुटेरेस सगरमाथाको आधार शिविरमा ओर्लिएका थिए। उनलाई वडा अध्यक्ष लक्ष्मण अधिकारीले स्थानीय बिषयमा जानकारी दिएका थिए भने शेर्पाले विस्तारमा विवरण सुनाएका थिए।

इम्जा हिमतालको उत्पतिदेखि आजको अवस्थासम्मको कथा सुनेर गुटेरेस अचम्भित भएका थिए । यसैगरी हिमाली क्षेत्रमा विभिन्न परिवर्तनहरु देखा परेको उनलाई जानकारी दिईएको थियो । स्थानीय जनप्रतिनिधि र भुक्तभोगीको भनाई सुनेर उनी चकित परेका थिए।
गुटेरेसले त्यहाँ २ घण्टा विताएका थिए ।

महासचिव गुटेरेसको भ्रमणले स्थानीय सरकार र बासिन्दालाई धेरै आशावादी बनाएको छ। जलवायु संकटको असरले हिमाली क्षेत्र र हिमतालहरुको अवस्था कस्तो भैरहेको छ भन्ने कुरा प्रत्यक्ष देखेका महासचिवले नेपाल अन्यायमा परेको कुरा त आधार शिविरमै उभिएर संसारलाई प्रत्यक्ष सुनाएका थिए। जलवायु परिवर्तन र संकट उत्पन्न गर्न कुनै भूमिका नै नरहेको नेपाल ठूला अद्योगिक राष्ट्रहरुका कारण पीडित भैरहेको कुरा संसारले अझ प्रष्टसँग थाहा पाएकाले अबका दिनमा यसमा नेपालले न्याय पाउने आशा उनीहरुले गरेका छन् ।

अन्नपूर्ण आधार शिविर पनि पुगे गुटेरेस । उनले त्यहाँ पनि उस्तै अवस्था सुन्न र देख्न पाए। जहाँ उनले स्थानीयसँग नेपाललाई न्याय दिलाउने वचन दिएर बुद्ध जन्मस्थल लुम्बिनी गएका थिए।

महासचिव गुटेरेसको भ्रमणका क्रममा नेपालले जलवायु परिवर्तन र असरबारेमा आफ्नो धारणा प्रष्टसँग राख्न नसकेको विश्लेषक अरुण सुवेदीले बताएका छन् । नेपालले औपचारिक रुपमा विस्तारमा आफ्नो धारणा राख्न सकेको भए थप प्रभावकारी हुने उनको भनाई छ ।
गएको शनिबार राती काठमाडौं उत्रिएका महासचिव गुटेरेस बुधबार अपरान्ह अमेरिका फर्किइसकेका छन् । उनले यहाँ रहँदा राष्ट्रपति, प्रधानमन्त्री सहित सबैजसो दलका नेतासँग भेट गरेका थिए । जलवायु परिवर्तन, संक्रमणकालिन न्याय र शान्ति प्रक्रिया लगायतका बिषयमा उनको चासो रहेको कुरा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर