यौनकाण्डमा मुछिएका एसएसपी योगबहादुर पालको राजीनामा स्वीकृत

महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालको राजीनामा स्वीकृत भएको छ ।

एसएसपी पालले यौन दुर्व्यवहारमा कडा कारबाही हुने संकेत पाएपछि त्यसअघि नै केही अघि राजीनामा दिएका थिए । गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो ।

प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि मन्त्रालय पठाएको थियो ।

सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेका उनले छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका थिए ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार राजीनामा नदिएकाे भए उनलाई विभागीय कारबाही हुने थियाे । त्यही कारबाहीमा परिने डरले उनले अगाडि नै राजीनामा दिएका हुन् ।

जेठ १९ मा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्‍याे, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो । छानबिन समितिले अनुसन्धान गर्दा उनी पटके यौन दुर्व्यवहारी रहेको खुलेको अनुसन्धान स्रोतले बतायो । उनी कार्यरत कार्यालयमा कार्यरत अन्य महिला प्रहरी कर्मचारीसँग समेत समितिले सोधपुछ गरेको थियो ।

सोधपुछमा उनीहरूले समितिका अधिकारीहरूलाई पाल रहेको कोठामा एक्लै भेट्न जान पनि डर लाग्ने गरेको सुनाएका थिए । अनुसन्धानमा उनले महिला प्रहरी कर्मचारीलाई निजी निवासमा बोलाउने, नजिकै बस भन्ने, घुम्न जाऊँ भनेर फकाउने लगायतका दुर्व्यवहार गर्ने गरेको प्रतिवेदनमा समेत औंल्याइएको छ ।

पाल यस अगाडि पनि पटकपटक यौनकाण्डमा मुछिएका प्रहरी अधिकृत हुन् । २०७१ सालमा सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख भएको बेलामा महिला प्रहरी र गैरप्रहरीमाथिको यौन दुर्व्यवहारको घटनाको उजुरीका आधारमा सरूवा भएका थिए । त्यस्तै बौद्ध वृत्त प्रमुख हुँदा पनि उनी कारबाहीमा परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर