काठमाडौं महानगरको ‘साथी महानगर’ योजना कार्यान्वयनमा, दिइने छ सुत्केरी र किरिया खर्च

काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ योजना कार्यान्वयनमा ल्याएको छ ।

शहरी गरिब र विपन्न वर्गको दैनिकीमा सहजता ल्याउन साथ दिने उद्देश्यले ‘भेटौंला, महानगरवासीको दुःख मेटौंला’ भन्ने नारासहित महिला, बालबालिका, विपन्न लक्षित उक्त कार्यक्रम कार्यान्वयनमा ल्याइएको महानगरले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिने, विपन्नलाई किरिया खर्च अभाव हुन नदिने, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिले एक्लो महसुस गर्न नपर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने महानगरले जनाएको छ ।

सुत्केरी सहयोग
शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपांगता रहेको, कूपोषित गर्भवती तथा कूपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्नेछ । यस्तै ४२ दिनभित्रका सुत्केरी, परिवारमा अन्य १५-६० वर्षका सहयोगी व्यक्ति नरहेको तथा परिवारका कुनै सदस्यको नियमित रोजगारीको ग्यारेन्टी नभएको अवस्थामा सुत्केरीलाई महानगरले ७ हजार ५ सय रूपैयाँ सुत्केरी खर्च उपलब्ध गराउने उल्लेख गरिएको छ ।

किरिया खर्च
महानगरले दाहसंस्कार र किरिया खर्चसमेत जुटाउन नसक्ने महानगरवासीका लागि किरिया खर्चको व्यवस्था गर्ने भएको छ ।
जसअन्र्तगत विपन्न किरिया खर्चको आवश्यकता भएका नागरिकलाई महानगरले २० हजारसम्म खर्च उपलब्ध गराउनेछ ।

तर, त्यसका लागि घरजग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्षभित्र कुनै पनि वैदेशिक रेमिट्यान्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपांगता रहेको, कूपोषित गर्भवती तथा कूपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको जस्ता विपन्नता पुष्टि गर्ने निर्धारित मापदण्ड पुर्‍याएर वडा कार्यालयबाट सिफारिस लिनुपर्ने हुन्छ ।

यस्तै घरजग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्षभित्र कनै पनि वैदेशिक रेमिट्यान्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थता रहेकालाई परिवारको हकमा महानगरपालिकाले १५ हजारसम्म किरिया खर्च उपलब्ध गराउनेछ ।

महानगरको साथी महानगर स्वर्णिम योजनामा उल्लेखित मापदण्ड पुगेका महानगरवासीले विपन्नता पुष्टि हुने कागजातसहित आवश्यक सहयोगका लागि आफू बसोबास गरिरहेको वडा कार्यालय वा काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन इकाइमा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर