नयाँदिल्लीमा सुरू भयो एपीएफ-एसएसबी सातौं समन्वय बैठक

सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको नियमित सातौं समन्वय बैठक सोमबारदेखि नयाँदिल्लीमा सुरू भएको छ।

बैठकको सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल र एसएसबीकी महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गरेका छन् ।

बैठकमा सहभागी हुन महानिरीक्षक अर्याल नेतृत्वको टोली आइतबार भारत गएको थियो। सोमबार महानिरीक्षक अर्याल नेतृत्वको ९ सदस्यीय टोलीले एसएसबीको प्रधान कार्यालयको भ्रमण गरेको छ।

उक्त भ्रमणमा दुई सुरक्षा निकायबीच समन्वय र सहकार्यका विषयमा छलफल भएको एसएसबीले जनाएको छ।

सीमा सुरक्षामा खटिएका दुई निकायबीच समन्वय र सहकार्य बढाउन हरेक वर्ष द्विपक्षीय बैठक हुँदै आएको छ। गत वर्ष नेपालमा बैठक भएको थियो। बैठक सीमा सुरक्षा तथा समन्वयका विषयमा केन्द्रित हुने गरेको छ।

नयाँदिल्लीमा जारी बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी छन्। सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काका अनुसार बैठक बुधबारसम्म चल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *