भूकम्पपछिको राहत र पुनःस्थापनाका लागि कांग्रेसले दियाे प्रधानमन्त्रीलाई ९ बुँदे सुझाव

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी भूकम्पपिडिीतका लागि ५० लाखको चेक दिँदै सुझावसहितको ध्यानाकर्षण गराएको हो ।

कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । पार्टीले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई सङ्घीय सरकारको अनुगमन र सहजिकरणका लागि सुझाव समेत दिएको छ ।

सो अवसरमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचारविभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत सहभागि थिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए । उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताए । उनले भने, “हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताउनुभयो । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।”

प्रधानमन्त्रीले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कामबारे छलफल भएको बताए । उनले नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैं यसपटक पनि सबै एकजुट भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर