पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न आदेश

रौतहटको राजपुर बमकाण्ड प्रकरणमा मुद्दाको पुर्पक्षका लागि कारागारमा रहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसँग सम्बन्धित मुद्दामा १५ दिनभित्र बहस नोट पेपेस गर्न आदेश भएको छ।

बुधबार अन्तिम बहस सकिएपछि फैसलाअघि रौतहट जिल्ला अदालतले यस्तो आदेश दिएको हो। केही दिनदेखि चलेको बहस बुधबार सकिएको हो।

अदालतका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार मुद्दामा पक्ष, विपक्षी र सरकारी वकिलका साथै पीडितका तर्फबाट पनि बहस सकिएको हो।

अदाललते यस मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्ने पक्ष र विपक्षीका साथै सरकारी वकिललाई पनि आदेश गरेको छ। यस्तै अदालतका कर्मचारीहरूलाई मुद्दाको सार संक्षेपीकरण बनाएर इजलासमा पेस गर्न आदेश दिइएको छ।

वादी, प्रतिवादी र सरकारी वकिलबाट बहस नोट मगाउने र १५ दिनभित्र पेसी राखेर अन्तिम फैसला सुनाउने आदेश भएको छ। यसका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस सुरू भएको थियो।

पीडितका तर्फबाट सुरूमा बहस भएको थियो भने मंगलबार सरकारी पक्षले पनि बहस थालेका थिए। बुधबार सरकारी पक्षको बहस सकेर पीडितका तर्फबाट बहस भएको थियो।

केही दिनदेखि उक्त मुद्दामा बहस चलिरहेको थियो। अब बहस नोट पेस भएपछि जिल्ला अदालतले फैसला सुनाउने छ। सरकारी वकिलको कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीको नेतृत्वमा आलमलाई सफाइ दिन नमिल्ने दाबीसहित बहस भएको थियो।

पीडितका तर्फबाट बहस गर्न काठमाडौंबाट केही अधिवक्ताहरू पुगेका थिए। अधिवक्ता पुष्प पौडेलसहितका केही अधिवक्ताहरूले बुधबार बहस गरेका छन्। उनीहरूले आलमलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग गरेका थिए।

संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते पूर्वमन्त्री अफताव आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकारूलाई इँट्टा भट्टामा जलाएको आरोप उनीमाथि छ।

जिल्ला सरकारी वकिलको कार्यालयले ०७६ कात्तिक १८ गते नेता आलमसहित ११ जनाविरूद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको थियो।

त्यसपछि भएको बहस र सुनुवाइबाट रौतहट जिल्ला अदलतका न्यायाधीश दीपक ढकालको इजलासले अलामलाई मुद्दा टुंगो नलागेसम्मका लागि कात्तिक २९ गते कारागार पठाउने निर्णय गरेको थियो।

आलमविरूद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको थियो। पूर्वमन्त्री आलम चार वर्षदेखि पुर्पक्षका लागि नख्खु करागारमा छन्। पूर्वमन्त्री आलमका भाइ महताब आलम पनि पुर्पक्षका लागि रौतहट कारागारमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर