काठमाडौंमा प्रहरीबाटै लुटिए युवती, असईसहित पाँच जना कारागार चलान

काठमाडौंको ठमेलबाट युवती लगेर डाँका चोरी गरेको अभियोगमा नेपाल प्रहरीका असईसहित पाँच जनालाई कारागार चलान गर्ने आदेश भएको छ।

प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहितको संलग्नतामा डाँका चोरी भएको मुद्दामा बुधबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

यस मुद्दामा सुनसरीको इटहरी उपमहानगरपालिका-२५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका-१९ इटहरीका २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी अभियुक्त छन्।

सहायक हवल्दार कास्कीको अन्नपूर्ण गाउँपालिका-१ अधिकारीडाँडाका ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान कास्कीको पोखरा महानगरपालिका-२७ का २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक धादिङको गंगाजमुना गाउँपालिका-३ का ४३ वर्षीय सुनबहादुर तामाङलाई कारागार चलान गर्ने आदेश भएको हो।

उनीहरूले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रूपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए। जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते प्रहरीले पक्राउ गरेको थियो।

गत असोज २१ गते राति सीआरभी ड्युटीमा खटिएका असई सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल नै डाँका चोरीमा संलग्न रहेको आरोप छ। उनीहरूमाथि अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

असोज २१ गते बिहान १० बजेदेखि असोज २२ गते बिहान १० बजेसम्म शिक्षण अस्पताल, शीतलनिवास, पानीपोखरी र सांग्रिला होटलसम्मको एरिया रेखदेखका लागि असई सुनबहादुर तामाङको कमान्डमा टोली खटिएको थियो। उनीहरू सबै महाराजगञ्ज वृत्तमा कार्यरत हुन्।

सो दिन राति महाराजगञ्जस्थित ओमान रेष्टुरेन्टमा ३ जना युवती ल्याउन उनीहरूले भनेका थिए। नवराजले कुमार रोकाको बा ५ च ५०३९ नम्बरको गाडीमा ३ जना युवती पठाइदिएका थिए।

जाहेरवाला कुमार रोकाले गाडी चढाएर युवती लगेका थिए। रोकाले आफूले युवतीहरूलाई लिफ्ट दिएर लगिदिएको बताएका छन्।

तर, अभियुक्तहरूले भने उनलाई पहिल्यै फोन गरेर ३ जना युवती ल्याउन भनेको बयान दिएका छन्। नवराजले भनेपछि उनले कुमारको गाडीमा तीन जना युवती पठाइदिएका थिए।

पानीपोखरीस्थित सडकमा उनीहरूको भेट भएको थियो। जाहेरवाला रोकाले आफूलाई रोकेर गाडीमा केटीहरू लिएर कहाँ बिक्री गर्न लगेको भनी धम्क्याएको, कुटपिट गरेको समेत उल्लेख गरेका छन्।

कुमारले चलाएको गाडीसहित प्रहरी जवान भुवन बरालले उनीहरूलाई शिक्षण अस्पतालतिर लगेका थिए। त्यो गाडीमा रहेका तीन जना युवतीलाई प्रहरीको गाडीमा चढाए। त्यसपछि निर्मल निवासको गल्लीमा लगेको र डेढ लाख रूपैयाँ मागेको पीडितको भनाइ छ।

त्यहाँ पुगेपछि उनीहरूले रकम माग गरेर धम्क्याएपछि कुमार रोकाले सन्तोष पुरीको ई-सेवा खातामा ३० हजार रूपैयाँ जम्मा गरिदिएका थिए। त्यसपछि उनीहरूले नवराज नगरकोटी, कुमार रोका र तीन जना युवतीलाई छाडिदिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर