‘व्यवसायिक स्वार्थ पुरा नभएको कान्तिपुरको रिसिइवी भुकम्पमा पोखियो’

पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जर्नादन शर्मा प्रभाकर यतिबेला आलोचनाको केन्द्रमा छन् । उनले जाजरकोट भूकम्प पीडितका लागि आएको सामग्री बाटोमै रुट चेन्ज गराएर आफ्नो जिल्लामा लगेको आरोप एउटा दैनिक पत्रिकाको छ । उसले केही जनप्रतिनिधिसँगको कुराकानीका आधारमा लेखेको समाचारपछि जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारीले आधिकारीक रुपमै आपत्ति जनाएका छन् ।

जिप्रका रुकुमपश्चिमले बिहीवार जारी गरेको बिज्ञप्तीमा सरकार र सार्वजनिक संघसंस्थावाट जाजरकोटका लागि पठाइएका राहत सामाग्रीका ट्रक शर्माको निर्देशनमा सल्लीबजारबाट मोडेर रुकुम पश्चिमलगेर आठविसकोट नगरपालिकामा वितरण गरिएको भन्ने समाचारप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

यस्तै बिज्ञप्तीमा समाचारमा उल्लेखित राहत सामाग्रीहरुको वितरणको सम्बन्धमा यस कार्यालयमा समेत कुनै अभिलेख नरहेको र सम्बन्धित आठविसकोट नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्दा समेत उक्त सामाग्री वितरण नभएको जानकारी हुन आएको जनाइएको छ ।

‘जिल्लामा विभिन्न निकायहरुबाट प्राप्त राहत सामाग्रीहरु वितरण जिल्ला प्रशासनमा अभिलेखांकन गरी सम्बन्धित स्थानीय तहहरुमा वितरणको लागि पठाउने गरिएको विषय जानकारी गराउँदै यो विपद्‌को समयमा यस प्रकारका यो र अन्य समाचारहरु सम्बन्धित निकायहरुबाट आधिकारीकता बुझेर मात्र सम्प्रेषण गर्नु र गराउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध छ,’ बिज्ञप्तीमा भनिएको छ ।

यस्तै नेता शर्माले आफु जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसँगै छिमेकी जिल्ला रुकुम पश्चिम र सल्यानमा पनि जनधनको ठूलो क्षति भएको र आफु क्षति बुझ्न, पीडितका पीडा सुन्न, घाइतेको उद्धार र पीडितको राहतका लागि प्रभावित क्षेत्रमा रहेको बताएका छन् । उनले भूकम्पको चपेटामा परेकालाई तत्काल उद्धार गर्न, पीडितलाई सुरक्षित स्थानमा पुयाउन तथा यस विपत्तिबाट जनतालाई मुक्त गर्न तात्कालिक राहतका निम्ति जनप्रतिनिधिका रूपमा आफैँ प्रभावित क्षेत्र पुगेर गरिरहेको सहयोग तथा निर्वाह गरिरहेको समन्वयकारी भूमिका जगजाहेर रहेको बताए ।

उनले आफु पीडितको दुखमा मलम लगाउने कार्यमा खटिरहेको समयमा ‘भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनशील राजनीति’ शीर्षकमा आएको समाचार घोर अमानवीय, आपत्तिजनक र विगतमा जस्तै पूर्वाग्रही रहेको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘म अर्थमन्त्री भएका वेला कान्तिपुरले ‘स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्छ’ भनी मलाई दिएको दबाबबाट सुरु भएको सुनियोगित षड्यन्त्रपूर्ण समाचार शृङ्खलाकै रूपमा मैले यसलाई लिएको छु’, उनको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा अगाडी भनिएको छ, ‘लाइसेन्स दिने अधिकार मन्त्रीको हातमा नभएको, प्रक्रियासंगत ढंगले अगाडि बढ्ने कुरा मैले जानकारी गराएपछि कान्तिपुरका मालिकका कैलाश सिरोहियाले सुरु गरेको बारम्बारको अनर्गलको प्रचार र मलाई जोडेर लेखिएका आधा दर्जनभन्दा बढी भ्रमपूर्ण सम्पादकीयबाट उनीहरूको नियत स्वतः स्पष्ट हुन्छ’ ।

उनले बिज्ञप्तीमा कान्तिपुरबाट प्रकाशित पछिल्लो समाचार तथ्यहीन, कपोलकल्पित र भ्रामक छ । स्वयं सम्पादकले स्थानीय संवाददातालाई यो–यो कुरा लेख्नूु भनी लगाएको भन्ने बुझिन आएको दाबी गरिएको छ ।

‘मेरो राजनीतिक जीवन समात्न गर्ने कुत्सित मनसाय र नियतमा आधारित भई समाचार सम्प्रेषण भएको सवैलाई स्पष्ट भैसकेको छ । हुँदै नभएको ट्रक र सोलारको कुराहरु जनतालाई भ्रम दिने दुष्प्रयास हो । यस्तो कार्यको भर्त्सना गर्दै पुनः खण्डन गर्न चाहन्छु । यस्ता कपोलकल्पित तथ्यहीन प्रचार तुरुन्त रोक्न सम्बन्धित पक्षलाई अपिलसमेत गर्दछु,’ शर्माको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर