तीन महिनामा नेपाल टेलिकमको आम्दानी ३९ करोड रूपैयाँ बढीले घट्यो

नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ३९ करोड रूपैयाँ बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रूपैयाँ रहेको जनाइएको छ ।

उक्त रकम गत आवको सोही अवधिको कुल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा ११ अर्ब चार करोड ९० हजार रूपैयाँ आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा ३९ करोड १२ लाख ९७ हजार रूपैयाँ कमी भएको टेलिकमले जनाएको छ ।

कम्पनीको कुल सञ्चालन आय पनि ४९ करोड २५ लाख २१ हजार रूपैयाँ घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रूपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय नौ अर्ब सात करोड ७५ लाख ८४ हजार रूपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार रूपैयाँ अर्थात् ५.४३ प्रतिशतले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रूपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा दुई अर्ब २२ करोड ५५ लाख छ हजार रूपैयाँ रहेको थियो । गत आवको तुलनामा चालू आवमा १९ करोड ८० लाख ७४ हजार रूपैयाँ अर्थात ८.९० प्रतिशतले कमी भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रूपैयाँ रहेको छ । चालु आवमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटीटी सेवाको बढ्दो प्रयोग रहेको जनाइएको छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर पर्नुका साथै बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

One thought on “तीन महिनामा नेपाल टेलिकमको आम्दानी ३९ करोड रूपैयाँ बढीले घट्यो

  1. डाटा बेच्ने तरिकै आयेन एन सेल सग सिक टेलिकम का मार्केटिङ गर्ने हरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर