लक्ष्मीपूजाको साँझ जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन

लक्ष्मी पूजाको अवसरमा आईतबार हिजो जनकपुरधामको जानकी मन्दिरमा ३५हजार दीप प्रज्ज्वलन गरिएको छ । दीपावलीको उपलक्ष्यमा ३५हजार दीप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिए ।

उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दीप प्रज्वलन गर्ने पनि जानकारी दिए । साँझ जनकपुरधामवासी, स्थानीय युवा र श्रद्धालुहरुले भव्यताका साथ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गरेका छन् ।

यस्तो छ जानकी मन्दिरको इतिहास

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ ।

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ,्र सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।

मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् ।

प्रत्येक महिनाका पूर्णिमामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकीधाम ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर