लुटपाटमा संलग्न घुमुवा प्रहरीको मुद्दामा सर्वाेच्चको फैसला- सादा पोशाक भनेको लुट्न छुट होइन

घुमुवा प्रहरीका नामले चिनिने सादा पोशाकका प्रहरीको गैरकानुनी गतिविधिका कारण बेला-बेला प्रहरी संगठनको बदनामी हुँदै आएको छ।

घुमुवा प्रहरी सीमा नाकामा हुने चोरी-तस्करी, रकम असुली, लुटपाटलगायतमा मुछिँदै आएका छन्।

गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिने घुमुवा प्रहरी नै गैरकानुनी कार्यमा संलग्न भएको भनेर कतिपय अवस्थामा अदालतमा मुद्दासमेत परिरहेको अवस्था छ।

हालै सर्वोच्च अदालतले एक यस्तै मुद्दामा आफ्नो फैसला सुनाउँदै सुराकी प्रहरी वा घुमुवा प्रहरी भएकै कारण अनधिकृत खानतलासी, चेकजाँच, सामान नियन्त्रण र नियन्त्रित सामान आफैंले राख्नु अपराध भएको ठहर गरेको छ।

घुमुवा प्रहरी भएकै कारण कुनै व्यक्तिले चोरी वा लुटपाट गरेमा त्यसलाई घुमुवा प्रहरी भनेर सजायमा छुट दिन नसकिने भन्दै सर्वोच्चले एक प्रहरी हवल्दारलाई दोषी ठहर गरेको हो।

जिल्ला प्रहरी कार्यालय, काभ्रेमा कार्यरत प्रहरी हवल्दार रविन चौगुठी लुटपाटमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका हुन्।

२०७१ असार २९ गते काभ्रेपलाञ्चोकको बनेपाबाट ७२ थान बुद्धचित्तको माला लुटपाट भएको थियो। एउटा मालामा १०८ दानाका दरले हुने ७२ थान माला अर्थात् ७ हजार ७ सय ७६ दाना अपराह्न ४ बजेको समयमा लुटपाट भएको थियो।

सिन्धुलीबाट भक्तपुरतर्फ आउँदै गरेको बा ३ ख ३९०४ नम्बरको टिपरमा ल्याउँदै गरेको माला लोकेन्द्र तोलांगे, म्यान्डम भन्ने अजय तामाङ, राजु लामा, जयकृष्ण श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय, काभ्रेमा कार्यरत प्रहरी हवल्दार रविन चौगुठीसमेत भई लुटपाट गरेका थिए।

अजय तामाङको योजनामा घुमुवा प्रहरी रविन चौगुठी आफैंले सडकमा गुडिरहेको टिपर रोकी गाडीको खानतलासी गरेका थिए। खानतलासीका क्रममा अनुमति नलिई ल्याएको बुद्धचित्त माला भेटिएपछि घुमुवा प्रहरी चौगुठीकै सहयोगमा ती माला अजय तामाङ र लोकेन्द्र तोलांगेले लिएर भागेका थिए।

उक्त मालाको धनी काभ्रेपलाञ्चोककै राज दोङ थिए। आफूले ल्याएको माला प्रहरीकै संलग्नतामा लुटपाट भएपछि उनले प्रहरीको कन्ट्रोल रूममा खबर गरेका थिए। आफ्नो माला लुटेर लैजाने व्यक्ति चढेको स्कुटर नम्बर पनि खबर गरे र लुटपाटमा संलग्न प्रहरी हवल्दारको नाम पनि तत्कालै टिपाए।

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट सई निमाबहादुर लामाको कमाण्डमा असई इन्द्रमणि केसीलगायतका प्रहरी कर्मचारीहरू घटनास्थल पुगे। तर, त्यहाँबाट प्रहरी हवल्दारसमेत भागिसकेका थिए। लुटपाटमा आफ्नै प्रहरी संलग्न रहेको पाएपछि काभ्रे प्रहरीले तत्कालै घुमुवा प्रहरी हवल्दार रविन चौगुठीलाई नियन्त्रणमा लियो। त्यसपछि घुमुवा प्रहरीकै मोबाइल नम्बरबाट लोकेन्द्र तोलांगेलाई फोन गरेर माला प्रहरीमा बुझाउनुपर्ने भएकाले लिएर आउन भनियो।

तर, त्यतिबेलासम्म लुटपाट भएको माला पनि बाँडफाँट भइसकेको थियो र तोलांगेसँग रहेको केही माला मात्रै बरामद भयो। अजय तामाङलगायतका केही व्यक्ति भने फरार भए। पछि जिल्ला प्रहरी कार्यालयमा लिखित जाहेरी परेपछि अनुसन्धान भयो र माला लुटपाट भएको पुष्टि भयो भने लुटपाटमा आफ्नै घुमुवा प्रहरी पनि संलग्न रहेको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलमा पेस भयो।

अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्ने क्रममा लोकेन्द्र तोलांगेले अजय तामाङ र घुमुवा प्रहरी हवल्दारकै सहयोगमा लुटपाट गरिएको, केही सामान बिक्रीका लागि बाँडफाँट गरिसकिएको जवाफ दिए। लोकेन्द्रले बयान दिने क्रममा राजु लामा, जयकृष्ण श्रेष्ठको पनि सहयोग र संलग्नता रहेको बताए।

इता, घुमुवा प्रहरी हवल्दार रविन चौगुठीले आफूलाई अवैध माला आउँदैछ भन्ने सूचना आएपछि आफू त्यहाँ गएर चेकजाँच गरेको, सोही बेलामा कोही व्यक्ति आएर माला लुटी लगेको र पछि आफूले नै तोलांगेलाई सम्पर्क गरी माला ल्याइदिन भनेकाले माला ल्याएर धनीलाई दिएको बयान दिए। तर, आफ्नो उद्देश्य लुटपाट गर्ने नरहेको र आफूले लुटपाटसमेत नगरेको उनले बयान दिए। साथै आफू घुमुवा प्रहरी भएकाले अवैध सामान आउँदैछ भन्ने जानकारी आएपछि चेकजाँचसम्म गरेको उनको भनाइ थियो।

चौगुठीले अवैध सामानको चेकजाँज गरेको बयान दिए पनि उनी आफ्नै सहयोग र संलग्नतामा लुटपाट भएको पुष्टि भएपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा प्रतिवादीहरूविरूद्ध डाँका चोरीको मुद्दा दर्ता भयो। उक्त मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले प्रत्येक प्रतिवादीहरूलाई जनही ६ वर्ष कैद र १ लाख ३७ हजार ४ सय ९७ रूपैयाँ जरिवाना हुने फैसला सुनायो।

जिल्ला अदालतको फैसलाविरूद्ध प्रहरी हवल्दार रविन चौगुठीलगायतका व्यक्तिहरू तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्न गए। पुनरावेदन अदालतल पाटनले २०७२ फागुन २ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला केही उल्टी गरी डाँका चोरी नभएर चोरी मात्रै रहेको भन्दै जनही १ महिना कैद र प्रतिव्यक्ति ९१ हजार ६ सय २५ रूपैयाँ बिगो बराबरको जरिवाना हुने फैसला सुनायो।

अदालतले जेल सजायसहितको फैसला सुनाएपछि प्रहरी हवल्दारको जागिर जाने निश्चित भयो। त्यसपछि उनी सर्वोच्च अदालतसम्म पुनरावेदनको निवेदन लिएर पुगे।

सर्वोच्चमा दिएको पुनरावेदनमा पनि उनले आफू घुमुवा प्रहरी भएको र कार्यालय प्रमुखको मौखिक निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै आफू निर्दोष रहेको जिकिर लिए।

तर, सर्वोच्च अदालतले २०८० भदौ ३ गते फैसला सुनाउँदै उक्त घटना लुटपाट नभएर चोरी भएको र घुमुवा प्रहरी भएकै कारण चोरी वा लुटपाटको घटनामा संलग्नले सजायबाट उन्मुक्ति नपाउने बतायो। कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुयालको संयुक्त इजलासबाट भएको फैसलाको पूर्णपाठ शुक्रबार मात्रै सार्वजनिक भएको हो।

उक्त फैसलामा घुमुवा प्रहरी भएकै कारण अपराध गर्ने छुट नरहेको र सजायबाट उन्मुक्ति दिन नमिल्ने भन्दै घुमुवा प्रहरी परिचालन सम्बन्धी कानुनको समेत अभाव रहेको औंल्याइएको छ।

प्रहरी प्रधान कार्यालयलाई घुमुवा प्रहरी परिचालनसम्बन्धी कार्याविधि वा कानुन बनाउन निर्देशन दिँदै घुमुवा प्रहरीलाई तत्कालै खानतलासी गरेर नियन्त्रणमा लिने अधिकारसमेत नहुने व्याख्या सर्वोच्चले गरेको छ।

फैसलामा चौगुठीले असल नियतले चेकजाँज नगरेको भन्दै त्यो आपराधिक मनसायबाट प्रेरित रहेको उल्लेख गरिएको छ।

फैसलामा प्रहरीभित्र घुमुवा वा सुराकी परिचालन गर्नका लागि कानुन बनाउनसमेत प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराइएको छ। अहिले घुमुवा वा सुराकीको परिभाषा नै नरहेको भन्दै भोलि घुमुवा वा सुराकी प्रहरीले असल नियतले गरेको सामान्य अपराधमा दोषी नबनाउन र खराब नियतले काम गरेमा सजाय दिन पनि कानुन बनाउन भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर