त्रिपालभित्रै तिहार मनाउँदैछन् भूकम्पपीडितहरू

नेपालीहरूको महान् चाड तिहारको रमझम पूर्वका सहरदेखि पश्चिमका सहर तथा गाउँघरसम्म छाएको छ। देउसीभैलोको रमाइलोले आँगन भरिने बेला जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितहरू भने दुःख र त्रास दुवै झेल्न बाध्य छन् ।

चिसो सिरेटोमा खुला आकाशमुनि पालको भरमा बाँचिरहेका भूकम्पपीडितले सामान्यतया दसैं मनाए पनि यही कात्तिक १७ गते शुक्रबार राति ११:४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरूका पछिल्ला दिन कष्टकर तरिकाले व्यतीत भइरहेका छन्।

भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन्। जाडोको समयमा खुला आकाशमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौधौ छ। यद्यपि, पालमुनि भए पनि बत्ती बालेर दीपावली सुरू भएको पहिचान भने दिएका थिए।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रूकुम पश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिकामा ठूलो क्षति भयो। भूकम्पबाट सिंगो जाजरकोट, रूकुम पश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन्।

कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन्। कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन्। विस्थापित सबैको बास भनेकै पालमुनि हो। दसैं घरमा मनाएका उनीहरू भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन्।

सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रंगौलीले सजिइरहँदा भूकम्पपीडितले भने आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे। जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दीपावली गरेको तस्बीर अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ।

तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंहले बताए। ‘नमरूञ्जेलसम्म आफ्नो संस्कृति र आस्था मार्ने कुरा त भएन तर आनन्दका साथ तिहार मनाउने अवसर भूकम्पका कारण गुमेको छ,’ उनले भने।

भेरी नगरपालिका जाजरकोट निवासी दिनेश सिंहले भूकम्पबाट भाग्यले बाँचिएको बताउँदै पालमुनिको तिहार मनाउन समस्या भएको बताए।

‘तिहार आफ्नो ठाउँमा छ बरू सरकारले चिसोमा कठ्यांग्रिएका जनताको समस्यालाई छिटो बुझेर घरटहरा हालिदिएको भए हुन्थ्यो,’ उनले भने, ‘तिहार त यसपटक मनाउन नपाए अर्को पटक आइहाल्ला। एकबारको जीवन बचाउनेतर्फ लाग्नुपर्‍याे।’

जुनीचाँदे गाउँपालिकाकी मनसरा रावतले फेरि भूकम्प आएर जीवन सकाउने हो कि भन्ने त्रासले तिहारको कुनै रमझम नभएको प्रतिक्रिया दिइन्। भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनर्स्थापना तथा पुनर्निर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर