सबै मुस्ताङवासीका लागि खुला भयो कोरला नाका

मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ-लिजी) बजार आवतजावत गर्न पाउने भएका छन्।

यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो। चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँचवटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरूङले जानकारी दिए।

‘कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सीमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौं,’ उनले भने, ‘चिनियाँ पक्षले हाम्रो प्रस्तावमा सहमति जनाएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाहरूले पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवतजावत गर्न पाउने भएका छन्।’

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो। सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरूसँग समन्वय गरेर थप पालिकावासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ-लिचीसम्म व्यापार व्यवसायका लागि नियमित आवतजावत थालेका छन्।

कोरोना महामारी फैलिएपछि वि. सं. २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भएको थियो। त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। वि. सं. २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो।

वि. सं. २०५८ सम्म रोकतोक नरहेको सीमा वि. सं. २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो। कोरला नाका नियमित सञ्चालन र सबै मुुस्ताङवासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए।

दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाएको उनले बताए। चीनको नेचुङ-लिची काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जनसुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरूको उपस्थितिमा सोमबार दिउँसोदेखि नाका खोलिएको थियो।

सो अवसरमा नेपालतर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरूङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो।

दुवै सररकारका प्रतिनिधिहरूको उपस्थितिमा नाका खोलिएको हो। कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरूलाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो।

लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बीओपी) को रोहवरमा यही कात्तिक २५ गते चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँच प्रिफेव कन्टेनर जडान गरिएको छ। कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन। नेपालतर्फ थिएनन्।

चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चीनले ‘प्रिफेव कन्टेनर’ उपलब्ध गराएर जडान गरिएको हो। चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन्। चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटकले प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन्।

नेचुमा सशस्त्र प्रहरी बलको बीओपी भवन निर्माण भएको छ। जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ। चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *