नेपाल संवत नेवारहरूको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवत नेवारहरूको मात्रै संवत नभएर नेपाल र सबै नेपालीको मौलिक संवत रहेको बताएका छन्।

शंखधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा मध्यपुरथिमिको मौलिक नाम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, ‘नेपाल संवत भनेको नेवारहरूको मात्रै संवत हो भन्ने भ्रम रहेछ, यो संवत् नेपालीको आफ्नै मौलिक संवत हो, सबै जातजातिको साझा संवत् हो, सिङ्गो नेपाल र नेपाली मात्रको संवत भएकाले यो संवतप्रति नेपालीले गर्व गर्नुपर्छ।’

नेपाल संवतलाई स्थापित गर्न नेवार बुद्धिजीविहरूको मुख्य भूमिका रहेको चर्चा गर्दै उनले नेपाल संवतलाई राष्ट्रिय संवत बनाउन पनि उनीहरूले सङ्घर्ष गरेको बताए।

उनले नेपाल संवत सामाजिक न्यायमा आधारित संवत् रहेको चर्चा गरे।

शंखधर साख्वाःको प्रेरणाबाट आफूले धेरै निर्णय लिएको स्मरण गर्दै प्रधामन्त्री दाहालले भने, ‘गणतन्त्र स्थापना भएपछि मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको हो, त्यतिबेला नेपालका गरिब किसानको ऋण मोचन गर्न ३० हजारसम्म ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहा गर्ने निर्णय गरेँ, त्यो निर्णय शंखधर साख्वाःबाट प्रेरणा लिएर गरेको निर्णय हो।’

उनले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय र सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत पनि उल्लेख गर्ने निर्णय गरेको बताउँदै अब प्रत्येक कागजी प्रक्रिया एवं ठाउँमा यो संवत कार्यान्वयनमा आउने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर